
काठमाडौं, १९ चैत । नेपालकै पहिलो मनकामना केबलकारले पुरानो प्रविधिलाई विस्थापन गरी नयाँ प्रविधि अपनाउने भएको छ ।
पुरानो प्रविधिका कारण पटक–पटक मर्मत गर्नुपर्ने हुँदा कम्पनीको खर्च बढ्नाका साथै आफ्ना यात्रु तथा टाढा–टाढादेखि आउने भक्तजनहरुमा समेत गम्भीर असर परेको भन्दै कम्पनीले नयाँ प्रविधि प्रतिस्थापन गर्न लागेको बताएको छ ।
उक्त नयाँ प्रविधि विभिन्न तीन चरणमा प्रतिस्थापन गरिने तथा त्यसका लागि करिब २ वर्षको समयावधि लाग्ने समेत कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीले पहिलो चरणमा तत्काल अतिआवश्यक र मर्मत गर्न नसकिने पार्टपूर्जाहरु फेर्ने छ । त्यस्तै दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पार्टपूर्जाहरु फेर्ने छ भने तेस्रो तथा अन्तिम चरणमा हाल एनालग सिस्टमबाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केवुल लठ्ठा फेरबदल गर्ने, कम्युनिकेट केबुललाई सेट्रा केबुलमा रुपान्तरण गर्ने र डीसी ड्राईभलाई एसी ड्राइभमा रुपान्तरण गरी नवीन प्रविधियुक्त बनाउने बताएको छ ।
ती कामहरु गर्दा नियमित मर्मत, सम्भार अलावा उपरोक्त कार्यका लागि पटक–पटक सेवा अवरूद्ध हुन जाने भए पनि सेवा भने निरन्तर जारी राख्ने कम्पनीले बताएको छ ।















प्रतिक्रिया