
भक्तपुर, १९ चैत । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्याङ्ग्ले गाउँपालिका–३ घर भएकी १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, नुवाकोट सूर्यगढी गाउँपालिका–४ घर भएकी ३१ वर्षीया मुना थापा मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–१ गागलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनार छन् ।
पीडितका अभिभावकले आफ्नो छोरीलाई चैत १२ गते लिएर गएकी सुहाना तामाङले श्यामकुमार भट्टराईसँग मिलेर काठमाडौं माकलबारीमा फ्ल्याटमा राखी त्यहाँबाट होटेलमा पुर्याई ग्राहकसँग जवरजस्ती करणी गर्न लगाएको भन्ने जाहेरी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरु २ जनालाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल होटेलमा बालिकालाई जबरजस्ती करणी भएको खुल्न आएपछि होटेल सञ्चालक प्रकाश ढुंगेल र मुना थापा मगर तथा जबरजस्ती करणी गर्ने राजकुमार सुनारलाई समेत बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सुहानाले युवतीहरुलाई काम लगाईदिने प्रलोभनमा पारी श्यामकुमारको सम्पर्कमा पुर्याउने र श्याम कुमारले विभिन्न प्रलोभनमा पारी होटेलमा पठाई जबरजस्ती करणी गर्न बाध्य बनाउने तथा अनिच्छुकलाई धाकधम्की दिई भाग्न उम्किन नदिई उक्त फ्ल्याटमा राख्ने गरेको पाइएको छ ।
यसरी बन्धक बनाइएकीमध्ये १६ वर्षीया किशोरी भाग्न सफल भई अभिभावकको सम्पर्कमा आएको अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।















प्रतिक्रिया