काठमाडौं, १९ चैत । नेकपालाई दुई पार्टी बनाउने सर्वोच्च अदालतको फैसलासँगै माओवादी केन्द्रले सरकारलाई दवाव सिर्जना गरिरहेको छ ।
माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नलिए पनि प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत लिन सुझाव दिएको छ । प्रतिनिधि सभा बैठकमा पहिलो पटक औपचारिक रुपमा माओवादीले विश्वासको मत लिनुपर्ने भनेर ओलीलाई चुनौती दिएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले ओली सरकारले विश्वासको मत लिनुपर्ने भनेपछि राजनीतिभित्र नयाँ तरंग उत्पन्न भएको छ । माओवादीको दवावलाई प्रधानमन्त्री ओलीले धेरै महत्वका साथ लिएका छैनन् । ओली निकटका नेताहरूले विश्वासको मत तत्काल लिनु नपर्ने बताएका छन् ।
माओवादीले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता नहुँदासम्म ओलीले विश्वासको मत लिनुनपर्ने बालुवाटार निकटका नेताहरूले बताएका छन् ।
एमाले र माओवादी केन्द्रभित्रको विवादलाई लिएर राजनीतिले नयाँ परिस्थिति सिर्जना गरेको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा विवाद भइरहेको छ । यो विषय कानूनीभन्दा पनि राजनीतिक रहेको भन्दै विभिन्न खालका अड्कलबाजी भइरहेका छन् ।
प्रधानमन्त्री ओली माओवादीले अविश्वासको मत फिर्ता लियो भने पनि डराउने पक्षमा छैनन् । जसपाको महन्थ ठाकुर समूहलाई सरकारमा ल्याएर अगाडि बढ्ने पक्षमा देखिएका छन् । ओली र ठाकुरबीच पछिल्लो समय हिमचिम निकै बढेको छ ।
उता, ओली सरकारलाई विस्थापित गर्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच वार्ता भएको छ । बुधबार भएको वार्तामा ओली सरकारविरुद्ध कसरी जानेभन्ने विषयमा छलफल भएको बताइएको छ ।
जसपाका अध्यक्ष यादवले प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर जाने पक्षमा छैनन् ।















प्रतिक्रिया