काठमाडौं, १७ चैत । ललितपुरमा हाइप्रोफाइल जुवाको अड्डामा प्रहरीले छापामारेको केही महिनाभित्र काठमाडौंमा सेटिङमा जुवा खेलाउने जुवाडेको चर्तिकलाहरू बढ्न थालेको छ ।
प्रहरीले अवैध रुपमा हुने गतिविधिहरूलाई नियन्त्रण गर्न खोजी रहेको छ । बेलाबेला जुवाको अखडामा छापामारेर जुवाडेहरूलाई लाखौँ रुपियाँसहित पक्राउ समेत गर्ने गरेको छ ।
पक्राउ पर्ने जुवाडेहरू धरौटीमा छुटेर आफ्नो पुरानो गतिविधि र हर्कतमा लाग्ने गरेका छन् । जुवाको अखडाबाट पक्राउ परेका ललितपुरका विनोद घिमिरे धरौटीमा छुट्नेवित्तिकै फेरि जुवाको अखडामा देखिन थालेका छन् ।
सेटिङको जुवाबाट घिमिरेले राम्रै कमाइ गरिसकेको चर्चा जुवाडेहरूका बीच हुन थालेको छ । विनोद घिमिरे पटके हुन् । घिमिरे काठमाडौं उपत्यकाभित्र कहलिएका सेटिङवाला जुवाडेमा पर्छन् ।
यता, काठमाडौंमा राजन खोजु जुवा खेलाउने कार्यमा सक्रिय छन् । न्युरोड क्षेत्रमा सेटिङमा जुवा खेलाउँदै आएका खोजुले केही दिनदेखि जुवाको खाललाई न्युरोडबाट सीतापाइलातिर सारेका छन् ।
एकजना जुवाडेका अनुसार खोजुलाई जनसेवा प्रहरीले निगरानीमा राखेपछि डराएका खोजुले न्युरोडमा केही दिनदेखि सेटिङमा जुवा खेलाएका छैनन् ।
प्रहरीका घुमुवाहरूसँग सेटिङ गरेर खोजुले जुवाडेहरू जम्मा गरेर जुवा खेलाउने गरेको महानगरीय प्रहरी परिसर टेकुका एकजना अधिकृतले बताएका छन् । ‘घुमुवाहरूको हाकिमसँग सिधै सम्पर्क हुन्छ’, नाम उल्लेख नगर्ने सर्तमा ती प्रहरी अधिकृतले भने, ‘घुमुवाले ल्याउने सूचनाका आधारमा प्रहरीले छापा हान्ने हो । घुमुवाहरूमाथि नै जुवाडेहरूसँग मिलेको बेलाबेला गुनासा आउने गरेका छन् ।’
केही दिन अगाडि न्युरोड र कालीमाटीको बीचमा रहेको विष्णुमती पुलको नजिकै रहेको पार्टी प्यालेसमा खोजुले जुवा खेलाएका थिए । खोजुले जुवा खोलाको सूचना प्रहरीसम्म पुगेको थियो । प्रहरीले छापा हान्ने डरले तर्सिएर खोजुले जुवाको खाललाई सारेको एकजना जुवाडेले बताएका छन् ।
दैनिक नेपाललाई प्रतिक्रिया दिँदै खोजुले आफूलाई लागेको आरोपमा कुनै सत्यता नरहेको दाबी गरे । उनले आफू पार्टी प्यालेसको व्यवसायमा संलग्न रहेको भन्दै जुवा खेल्ने, खेलाउने र मिटर व्याजमा पैसा लगाउने कार्यमा संलग्नता नरहेको बताए । उनले भने, ‘यो गलत सूचना कसले दियो ? यो आरोप सबै गलत छ ।’
न्युरोडबाट अड्डा सारेका खोजुले सीतापाइला क्षेत्रमा जुवा खेलाउँदै आएका छन् । जनसेवा प्रहरीका एक जना जुनियर अधिकृतले भने, ‘राजन खोजुका विषयमा मौखिक उजुरी परेको छ । उहाँलाई हामीले निगरानीमा राखेका छौँ ।’
खोजुले जुवा खेलाउँदा जुवाडेहरूलाई पैसा सापटी दिने गरेका छन् । एक लाख सापटी दिँदा दश हजार रुपियाँ अतिरिक्त लिने गरेको एकजना जुवाडेले भनेका छन् । खोजुले जुवा खेलाउँदा दिनको दश लाखसम्म उठाउने गर्छन् ।
काठमाडौं र ललितपुरमा जुवाडेहरूको गतिविधि अलिक धेरै बढ्न थालेको छ । केही दिन अगाडि पनि जुवाको पैसासहित भक्तपुरमा प्रहरीले सुमन घिमिरे र विनोद तामाङलाई पक्राउ गरेको थियो । सुमन र तामाङको साथबाट प्रहरीले ४२ लाखभन्दा धेरै रकम बरामद गरेको थियो ।












प्रतिक्रिया