५ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रका कार्यकर्ता राप्रपामा प्रवेश, सगुन सुन्दरले गरे स्वागत

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १५ चैत । नेकपा माओवादी केन्द्र परित्याग गरी पाँचथरका केही कार्यकर्ताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

आफ्नो पार्टी प्रवेश गरेका युवा नेता–कार्यकर्ताहरुलाई पार्टी नेता सगुन सुन्दर लावतीले स्वागत गरेका छन् । मिक्लाजुङ–१, सराङडाँडामा सम्पन्न राप्रपा वडा भेलामा माओवादी पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा अबीरमान राई, हर्क चाम्लिङ, देउकुमार चाम्लिङ, जीतबोल राई लगायत १५ जना छन् ।

‘हिजो जे जस्तो भनिए पनि, निष्पक्ष राष्ट्रप्रमुख र अभिभावकको भूमिकामा नेपाली जनताले राजसंस्था र सनातन हिन्दुराष्ट्रको माग गरेका छन् । नयाँ नेपालको नारा र बाचाले लक्षित परिवर्तन र समृद्धि प्राप्त गर्न सकेन, समावेशी संरचना र पहिचान स्थापित गर्न सकेन, त्यसैले जनताले विकल्प खोजेका छन्,’ नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने ।

परिवर्तनका संवाहक हौं भन्ने दल र पात्रहरुले गरेको जनविरोधी हर्कतहरुका कारण आफ्नो पार्टीप्रतिको आकर्षण बढ्दै गएको उनको भनाइ छ । नेपालको राजनीति नयाँ शिराबाट अघि बढ्नु आवश्यक भएको समेत लावतीले बताएका छन् ।

वडा भेलालाई सम्बोधन गर्दै राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले पार्टीको महाधिवेशनबाट प्राप्त हुने नेतृत्वले देश र जनताको समस्या सम्बोधन गर्ने दाबी गरे । राप्रपा पाँचथरका जिल्ला सचिव कमल कुमार राईले भने, राप्रपा जनताको पार्टी हो, यही रुपमा अघि बढीरहने छ ।

भेलाका सहभागीहरुले स्वर्गीय नेता पद्मसुन्दर लावतीको पदचिन्हमा जनताको सेवामा निरन्तर अग्रसर हुनु पर्ने बताए ।