बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

त्रिदेशीय कप फुटबल : नेपाललाई बंगलादेशसँग जित्नैपर्ने दबाब

दैनिक नेपाल २०७७ चैत १४ गते १२:५३

काठमाडौं, १४ चैत । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसित भिड्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बंगलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

फाइनलमा प्रवेश गर्नका लागि नेपालले बंगलादेशसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ । बंगलादेश भने यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।

बंगलादेशले कीर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ । नेपालले कीर्गिस्तानसितको खेलमा फितलो खेल प्रदर्शन गर्‍यो ।

कीर्गिस्तानका कप्तान रोतो कार्ड पाएर मैदानबाट बाहिरिए पनि नेपाली टोलीले त्यसको फाइदा उठाउन सकेन ।

पटकपटक गोलको प्रयास भए पनि लक्ष्यमा पुग्‍न सकेन । नेपाल र बंगलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गरेको छ ।

फाइनल खेल दशरथ रङ्गशालामा सोमबार हुने आयोजक एन्फाले जनाएको छ । हालसम्म बंगलादेशले तीन अङ्क जोडेको छ भने नेपाल र कीर्गिस्तानले एक, एक अङ्क प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित