पिपरा, १४ चैत । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले गरिबी निवारणका कार्यक्रमहरूको कार्यान्वयन गर्न स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।
गरिबी निवारण कोषद्वारा रौतहटको दुर्गा भगवती गाउँपालिकामा प्रवर्दित सामुदायिक संस्थामा रहेको घुम्ती कोषलाई सहकारीकरण गर्ने प्रयोजनका लागि आयोजित वृहत् अभिमुखीकरण कार्यक्रमका उनले सो कुरा बताएका हुन् ।
राज्यको पुनर्संरचनापश्चात् गठित स्थानीय तहमा प्रसस्त अधिकार रहेकोले स्थानीय तहको अग्रसरता विना गरिबी निवारणका कुनै पनि कार्यक्रम जनतासम्म प्रभावकारी ढंगमा लागू हुन नसक्ने उनको कथन थियो ।
सो अभिमुखीकरण कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले आफ्नो पालिकामा रहेको गरिबी निवारण कोषद्वारा प्रवर्धित घुम्ती कोषलाई अझ प्रभावकारी ढंगले परिचालन गरिने प्रतिवद्धता व्यक्त गरे ।
दुर्गा भगवती गाउँपालिका १ नं वडाध्यक्ष डिके झा, ५ नं वडाध्यक्ष धर्मनाथ चौधरी, बुध्दिजीवीद्वय रविन्द्र झा र सन्तोषकुमार झाले गाउँपालिकामा आगामी दिनमा सञ्चालन गर्नु पर्ने गरिबी निवारण कार्यक्रमबारे चर्चा गरेका थिए ।
सो गाउँपालिकामा गरिबी निवारण कोषद्वारा प्रवर्दित १०७ सामुदायिक संस्थामा ६ करोड घुम्ती कोष रहेको छ ।















प्रतिक्रिया