५ कार्तिक २०८३, बिहिबार

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका निम्ति सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन् ।

‘मलको तत्कालीन समस्या समाधान हामीले गरिसकेका छौं । दीर्घकालीन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ,’ मन्त्री अर्यालले भनिन् ।

यस वर्ष मलको अभावमा किसानहरु छटपटाउनु नपर्ने बताउँदै मन्त्री अर्यालले उत्पादनमा समेत कमी नआउने जिकिर गरेकी छिन् । मध्यकालीन समस्या समाधानका निन्मि प्रक्रिया अगाडी बढाएको पनि उनको भनाइ छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका लागि प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनिक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।