आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

देउवाले कुरो बुझे, रामचन्द्र–शेखर–गगनहरू मुख मिठ्याएर बसे

दैनिक नेपाल २०७७ चैत १३ गते ११:३५

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन नचाहेको होइन । सरकारको नेतृत्व लिन चाहेको छ । प्रमुख विपक्षी दल भनेको वेटिङ सरकार पनि हो ।

सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थालाई राम्रोसँग बुझेका छन् । देउवाले अहिलेकै अवस्थामा कांग्रेसले सरकारमा जान खुट्टा उचाल्ने हो भने नराम्रोसँग फस्ने बताइसकेका छन् ।

केपी ओलीको सरकारलाई माओवादीले साथ दिइरहेको छ । माओवादीले समर्थन फिर्ता नलिदै कांग्रेस सरकारमा जान खोज्नु वा नेतृत्व लिन प्रयास गर्नु कच्चा खेलाडीको खेल हुनेछ । त्यति मात्रै होइन जनता समाजवादी पार्टी वा अरु दललाई प्रधानमन्त्री दिँदा पनि अहिलैनै हतार हुनेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा र डा.शेखर कोइरालालाई अहिले एकाएक सरकार चाहिएको छ । देउवाले सरकारको नेतृत्व लिने विषयमा ध्यान नदिएको भनेर आलोचना गरिरहेका छन् । पौडेलले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिरसकेका छन् ।

देउवाले भनेका छन्, ‘अबफेरि नयाँ कुरा आएको छ । शेरबहादुर केही बोलन भन्ने होला । शेरबहादुर प्रधानमन्त्री हुँदैन, प्रधानमन्त्री पाउँदा खान्छ वा खाँदैन भन्ने हल्ला छ यहाँ त !’

‘एउटा कुरा के स्पष्ट पार्न चाहन्छुभन्दा अहिले अदालतको दुइटा निर्णय भएको छ । एउटा निर्णयले संसद फिर्ता भएको छ । अदालतको निर्णय मानेका छौँ । अदालतले जे निर्णय गर्छ त्यो मान्छौँ भनेका थियौँ । संसदमा भाग लिएका छौँ’, देउवाले भने, ‘अर्को निर्णय भएको छ, माओवादी पार्टी, एमाले पार्टी । दुइटा पार्टी भएको छ नि ? दुइटा पार्टी एउटै सरकारमा छन् ।’

देउवाले प्रश्न गर्दै भनेका छन्, ‘के भयो त यो ? यो संयुक्त सरकार भयो । दुइटा पार्टीको सरकार भनेको संयुक्त सरकार भयो । प्रचण्डजी फिर्ता लिएका छैनन् । छोडेका छैनन् । मन्त्री भएर बसेकै छन् । ओलीले निकालेका छैनन् । बसेकै छन् ।’

‘त्यसै कारण अहिलेको संयुक्त सरकार हो । संयुक्त सरकार भनेको बहुमतको सरकार हो’, उनले भने, ‘बहुमतका सरकारमा हामीले चाहेर प्रधानमन्त्री बन्दैन नि ? न प्रचण्डले फिर्ता लिएको छ ? न ओलीले हटाएको छ ? यसै कारणले कुरा बुझ्नु पर्‍यो तपाईहरूले ।’

उनले भने, ‘शेरबहादुरले प्रधानमन्त्री खाँदै खान्न भन्छन् बा ? त्यो कुरा होइन नि ? फस्ने काम गर्नु भएन नि मैले पनि ?’

‘त्यस कारण ध्यान केमा दिनुपर्‍यो भने यो अहिलेको सरकार संयुक्त सरकार हो । बहुमतको सरकार हो’, देउवाले भने, ‘जबसम्म बहुमतको सरकार छ, तबसम्म हामीले निहुँ खोज्ने काम गर्नु भएन नि ? हामीले विपक्षी पार्टीको भूमिका खेल्ने हो । लड्ने हो, भिड्ने हो, अधिनायकवादका विरुद्ध, देशभरि संगठन गर्ने हो, त्यस काममा लाग्ने हो । जनता र पार्टीका साथीहरूको इच्छाअनुसार हामी अगाडि बढ्ने हो ।’

सभापति देउवाले भनेका छन्, ‘प्रधानमन्त्रीका लागि मरिमेट्ने मेरो कुरा छैन । टाउकोमा आयो भने भाग्नेवाला पनि छैन ।’

प्रतिक्रिया
सम्बन्धित