लण्डन, १३ चैत । इजिप्टको स्वेज नहरमा फसेको मालवाहक पानीजहाज निकाल्न हप्तौं लाग्न सक्ने भएको छ ।
मंगलबार बिहान चीनबाट नेदरल्याण्ड जान लागेको एभर गिभन नामक पानीजहाज नियन्त्रण गुमाएर किनारमा फसेको थियो । १९३ किलोमिटर लामो स्वेज नहरले भूमध्यसागर र रेड सीलाई जोड्छ ।
अहिले नहरको दुबैतिर १६० वटा जहाज जाममा फसेका छन् । एभर गिभनले स्वेज नहर बन्द भएपछि अहिले दैनिक झन्डै १० अर्ब डलरको व्यापार रोकिएको छ । यो नहरबाट विश्व व्यापारको झन्डै १२ प्रतिशत व्यापार हुने गर्छ।
४ सय मिटर लामो र ५९ मिटर जहाज निकाल्ने प्रयास भइरहेको छ । पानीजहाज निकाल्न नेदरल्याण्ड र जापानका दुई कम्पनीका अधिकारीहरू लागिरहेका छन् ।
उनीहरूले डोजरले बालुवा खनेर जहाजलाई तैराउने प्रयास गरेका छन् । केही दिनपछि नहरमा पानीको सतह बढ्ने र त्यसले जहाज तैरिन सजिलो हुने अनुमान गरिएको छ।
नहरमा फसेको पानीजहाज पनामा दर्ता भएको छ । सन् २०१८ मा बनेको यो जहाज ताइवानी कम्पनी एभरग्रिन मरिनले सञ्चालन गर्दै आएको छ ।















प्रतिक्रिया