आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पालना गरेर मात्रै पठनपाठन गर्न अनुरोध

दैनिक नेपाल २०७७ चैत १२ गते १६:०८

काठमाडौं, १२ चैत । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले कोरोना भाइरसको जोखिम पुनः बढेको भन्दै स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पूर्ण रूपमा पालना गरेर मात्रै पठनपाठन गर्न सम्पूर्ण विद्यालयहरूलाई अनुरोध गरेको छ ।

बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित सरोकारवालाहरूको छलफलपछि कोभिड–१९ को संक्रमण र त्यसबाट हुने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश तथा स्थानीय तहहरूले समेत निर्धारण गरेको जनस्वास्थ्यसम्बन्धी मापदण्ड (प्रोटोकल) अनिवार्य रूपमा पालना गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिवदीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरप्रति मन्त्रालय गम्भीर बनेको उल्लेख गरेका छन् ।

‘वर्तमान परिस्थितिमा सम्वन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुहुन, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउनु हुन अनुरोध गरिन्छ ।’

साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न/नगराउन पनि मन्त्रालयले सम्वद्ध सबैमा अनुरोध गरेको छ । विशेषतः विद्यालयहरूले दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउनाका साथै मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७’ को पूर्ण रूपमा अनुशरण गर्न र उक्त कार्याढाँचाको अधीनमा रही स्थानीय सरकारबाट निर्णय भएबमोजिम गर्न/गराउन मन्त्रालयले जोड दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित