१३ कार्तिक २०८३, शुक्रबार

कानुन नमान्ने पर्यटन कम्पनीलाई कारवाही गर्न श्रमिकको माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक यूनियन(यूनिट्राभ) ले पर्यटनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिंदै यूनिट्राभले मंगलवार ज्ञापनपत्र बुझाएको हो ।

पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधार र श्रमिकको जीवन रक्षाको माग गर्दै विभिन्न १७ बुँदामार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताएका छन् ।

सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचिकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने कम्पनीलाई कारबाही गरिनुपर्ने, पर्यटक आफूखुशी पदमार्गमा जाने एफ आइटी टीम्स बन्द गर्नुपर्ने लगायतका माग श्रमिकहरुको छ ।

यस्तै यूनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी विदेशी गाइडबीचको विभेदको अन्त्य, हेलिकप्टर रेस्क्युमा हुने विभेदको अन्त्य, विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।

यूनिट्राभले पर्यटक कुन देशको हो र बीमा रकम कति छ भन्ने आधारमा नभइ समय, अवस्था र स्थानलाई मध्यनजर गर्दै आपतकालिन अवस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई हेलिकोप्टरबाट रेस्क्यु गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

नेचर गाइड र सफारी श्रमिकको कार्य व्यवस्थित पार्नुपर्ने, कोभिडबाट प्रभावित श्रमिकको जीवन रक्षाका लागि राहत र विनाधितो सहुलियपूर्ण ऋणको व्यवस्था, महिला पथप्रदर्शकमाथि हुने विभेदको अन्त्य, पदमार्ग क्षेत्रमा रहेका सिण्डिकेटको अन्त्यलगायतका विषय यूनिट्राभले उठाएको छ ।

यसैगरी यूनिट्राभले विकासका नाममा बजेट सिध्याउन पदमार्गमा डोजर चलाउने र प्रकृतिमाथि दोहन गर्ने कार्यको अन्त्य गर्न भनेको छ ।

मागपत्रका विषयमा पर्यटनमन्त्री ढकालले आफू सकारात्मक रहेको भन्दै अध्ययन गरेर पर्यटन क्षेत्रको विकासका मागका सम्बन्धमा सकारात्मक रहेको बताएका छन् ।