५ कार्तिक २०८३, बिहिबार

स्वयमसेवक परिचालनलाई निरन्तरता दिँदै ट्राफिक महाशाखा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एव व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले परिचालन गर्दै आएको ट्राफिक स्वयंसेवकलाई निरन्तरता दिने भएको छ ।

उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटनामा परी अनाहकमा ज्यान गुमाउनुका साथै ठूलो संख्यामा अंगभङ्ग हुने गरेको तथ्याङ्कबाट स्पष्ट देखिन्छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरबाही तरिकाले सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत त्यसले असर गर्ने हुनाले त्यसलाई न्युनीकरण गर्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा छ ।

महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरि ९५ जना विद्यार्थीहरुलाई स्वयंमसेवकसम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैदलयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्म सोमबारदेखि नै परिचालन गरिने महाशाखाले जनाएको छ ।

उपत्यकाको बढी सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानहरुमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिँदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । त्यसरी खटिने ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशे पुल तथा फुटपाथको प्रयोग नगर्ने पैदल यात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने हेतु स्वयमसेवकले कार्य गर्ने एसएसपी भट्टराईले जानकारी दिए ।

केही मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने हुँदा ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे । जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा दुर्घटनामा परी मानिसको ज्यान गएको विगतको घटनाहरु सम्झदै उनले पैदलयात्रूको बढी भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि उनीहरुलाई सुरक्षित यात्रा गराउन र सडक पार गर्न सहयोगी बन्ने समेत जानकारी दिए ।

यसअघि महाशाखाले विभिन्न सँघसंस्था, स्कुल कलेजका विद्यार्थीहरुलाई ट्राफिक स्वयमसेवकसम्बन्धी प्रशिक्षण दिई विभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ ।

हाल बिभिन्न चरणहरुमा ६१९ जना स्वयंसेवकहरु परिचालन भइसकेका छन भने ५७ जना ले दैनिक काम गर्दै आएका छन । स्वयमसेवक परिचालनबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भए पनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाई छ ।

स्वयंसेवकको उपयोगिता एव प्रभावकरिता हेरेर आगामी दिनमा थपपरिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।