
काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरुलाई निमयनको आवश्यक रहेको बताएका छन् ।
सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । सामाजिक रुपान्तरणका निम्ति नभइ राजनीतिक ढंगले अघि बढेको भन्दै नियमन हुनुपर्ने उनको तर्क छ ।
उनले सामुदायिक रेडियोहरु समुदायको निम्ति भन्दा पनि पार्टी र नेताहरुको चुनावी प्रचार–प्रसारको माध्यम बनेकाले विकृति, विसंगति र अराजक शैलीलाई अपनाएको भन्दै निमयन गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।
उनले सरकारले नभइ सामुदायिक रेडियो संघले रेडियोहरुलाई नियमन गर्न आग्रह गरेका छन् ।
उनले भने– ‘सामाजिक रुपान्तरणको निम्ति भन्दाखेरी पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरूमा पनि व्यक्तिहरुको आफ्नो चुनाव प्रचारको, व्यक्ति प्रचारको, पार्टीको प्रचारको निम्ति प्रतिस्पर्धाबाट रेडियो धेरै जन्मिएको त होइन ? यी रेडियोहरुको जन्म कुन उद्देश्यबाट भएको थियो, कसरी स्थापना भएको थियो र अहिले रेडियोको प्रतिस्पर्धा किन भइरहेको छ र रेडियोको फ्रिक्वेन्सी दिनै सकिदैन, जसले साँच्चै रेडियो सञ्चालन गर्न खोजिरहेको छ उसले फ्रिक्वेन्सी नपाउने, जसले फ्रिक्वेन्सी लिएको छ त्यो रेडियोचाहीँ सामुदायिक रेडियोको आचारसंहिता, त्यसको नीति अनुसार चलेको छ कि छैन त्यो एकपटक फेरि पनि हामीले समीक्षा गर्ने कि नगर्ने ? रेडियोको स्थापना र उद्देश्य अनुरुप छ कि छैन त्यो कुरोको पनि एकपटक समीक्षा गरौँ । यसको उद्देश्यमा यसको नीतिको मर्म विपरित कहीँ रेडियो सञ्चालन भइरहेको छ र रेडियो जन्म भएको छ भनेपनि यसप्रति हामीले यसलाई नियमन गर्ने को ? सरकारले नियमन गर्दा त विरोध भइहाल्न सक्छ । यसको निम्ति सामुदायिक रेडियो प्रसारक संघले नै आफैंले आफैंलाई कसरी व्यवस्थित गर्ने ? आचारसंहिता निर्माण गर्न सकुन् । आफुहरुको बीचमा यसले दिइरहेको नकारात्मक सन्देश, समाजमा दिइरहेको विकृति, विसंगति र अराजक शैलीहरुप्रति कसरी यसलाई नियन्त्रण गर्ने, अकोरावले आफ्नै आचारसंहिता बनाएर मर्यादित बनाउने, जिम्मेवार बनाउने, गरिमालाई उच्च बनाउने काममा तपाईहरु लाग्नुस् ।’
उनले सामुदायिक रेडियोको मर्म र भावना अनुरुपको उत्पादन गर्ने एजेण्डा सामुदायिक रेडियोको हुनुपर्ने उनको भनाई छ ।
उनले भने– ‘सामुदायिक रेडियोको अब कन्टेन्ट कस्तो बनाउने भन्ने कुरो तपाइँहरुको मुद्दा हुनुपर्दैन ? जसले जे समाचार उत्पादन गरेपनि, जे गरेपनि, जे समाचार सम्प्रेषण गरेपनि हुने ? अनि कन्टेन्ट कस्तो हुनुपर्छ ? सामुदायिक रेडियोले आजको प्रस्तुतिमा तपाइँहरुको नीतिगत रुपमा पनि आउनुपर्ने विषय हो । समाचार उत्पादन कस्तो हुनुपर्छ ? समाज रुपान्तरणका लागि, सामुदायिक रेडियोको निम्ति, समाचार उत्पादनको कन्टेन्टको एजेण्डा बनाउनुपर्ने । अनि न सामुदायिक रेडियोको मर्म, भावनाअनुसार समाचार उत्पादन हुनसक्छ ।’
मन्त्री गुरुङले मन्त्रालयको फ्रिक्वेन्सी समितिले राष्ट्रिय फ्रिक्वेन्सी स्ट्राटेजी प्लान बनाउने निर्णय गरेको पनि जानकारी दिए । हाल देशभर ३ सयभन्दा बढी सामुदायिक रेडियोहरु सञ्चालनमा छन् ।












प्रतिक्रिया