५ कार्तिक २०८३, बिहिबार

किसानको संरक्षण हुनेगरी मात्रै वैदेशिक लगानी भित्र्याउनुपर्छ : मन्त्री अर्याल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरूको संरक्षण हुनेगरी मात्रै वैदेशिक लगानी (एफडीआई) भित्र्याउनपर्ने बताएकी छिन् ।

खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले विदेशी लगानीबाट नेपाली किसानको संरक्षण हुनुपर्नेमा जोड दिएकी हुन् ।

उनले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडीआई’ लागू गर्न आवश्यक रहेको बताएकी छिन् । ‘हाम्रो सामर्थ्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याएर जानुपर्छ,’ मन्त्री अर्यालले भनिन्, ‘तर हामीलाई नोक्सान नहुने र हाम्रा किसानहरूलाई पनि प्रोत्साहन हुनेगरी जानुपर्छ ।’

वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा भएको बताउँदै मन्त्री अर्यालले आशंका गरेर विकासका कामहरू नै रोक्ने कुरा राम्रो नभएको समेत बताएकी छिन् । ‘वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा चिन्ता चासो व्यक्त गर्नु स्वभाविक कुरा हो । तर, धेरै आशंका गरेर विकासका कामहरू रोक्ने कुरा राम्रो होइन,’ उनले भनिन् ।

सरकारले साना किसानलाई मार्नेगरी विदेशी लगानी भित्र्याएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालको दाबी छ । ‘ठूला–ठूला देशमा पनि एफडीआई लागू भएको छ र कृषिको विकास भएको छ । कृषि क्षेत्रको विकासका लागि नेपालमा ठूलो लगानीको जरुरी छ,’ मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले वैदेशिक लगानीका सन्दर्भमा दस्ताबेजहरू अध्ययन गरेर उचित कार्यविधि बनाउनतर्फ सबैको चासो र चिन्ता हुनुपर्ने समेत बताएकी छिन् । ‘सरकारले कृषि क्षेत्रको विकास गर्ने लक्ष्य लिएको छ । जसअनुसार कृषिमा ठूला लगानीको आवश्यकता छ तर, जुन कुरा हाम्रो क्षमताले मात्र भ्याउँदैन,’ मन्त्री अर्यालले भनिन्, ‘हाम्रो सामथ्र्यले नभ्याउने अवस्थामा विदेशी लगानी आकर्षित गरेर कृषि क्षेत्रको विकास गर्ने, उत्पादन पनि बढाउने र निर्यात पनि गर्ने हिसाबले जानुपर्छ ।’