बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

शाहद्वारा काठमाडौं फुटबल संघमा बलजफ्ती कब्जा, दाईलाई आकर्षक जागिर

दैनिक नेपाल २०७७ चैत १ गते १०:५७

काठमाडौं, १ चैत । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहले विगत १७–१८ वर्षदेखि संघभित्र कानून विपरितका कार्य गरेर हालिमुहाली गरेको आरोप लागेको छ । संघको विधान विपरित अध्यक्ष शाह दुई वटा संस्थामा अध्यक्ष रहेका छन् ।

फुटबल संघको अध्यक्ष रहँदा अरु संघ संस्थाको अध्यक्ष हुन नपाइने एन्फाको विधानमा छ । तर, अध्यक्ष शाह भने विधान मिचेर काठमाडौं जिल्ला फुटबल संघ र सानो गौचरण युवा क्लवको अध्यक्षमा कब्जा जमाएर बसेका छन् ।

अध्यक्ष शाहले आफ्नै दाई देवेन्द्रजंग शाहीलाई काठमाडौं जिल्ला फुटबल संघको कोच बनाएका छन् । शाहीलाई फुटबलसम्बन्धी कुनै जानकारी नरहेको आरोप लाग्दै आएको छ ।

अध्यक्ष शाहले संघको लेखा परीक्षणनै नगरेको आरोप विरोधीहरूले लगाएका छन् । शाहले संघलाई समयमा दर्ता समेत नगराएको आरोप छ । तर, अध्यक्ष शाहले आफूले लेखा परीक्षण गरेर तोकिएको स्थानमा दर्ता गरेको दाबी गरे ।

अध्यक्ष शाहले घरभाडा वापतको रकम हिनामिना गरेको आरोप छ । शाहले मिलोमतो गरेर सानो गौचरणमा रहेको घरभाडा खाएको एक जना सदस्यले बताएका छन् ।

मिलोमतोमा प्राइम लोकेशनमा रहेका संघको घरका सटरहरूको भाडा जम्मा ८ हजार छ । ती सटरको अगाडि रहेका व्यक्तिका घरको सटरको भाडा ३० हजारसम्म लिने गरेका छन् ।

अध्यक्ष शाहले घर भाडा वडा कार्यालयले लिने गरेको बताए । उनले आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाका बेला शाह कोषाध्यक्ष थिए । थापासँग शाहलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।

अध्यक्ष शाहले एन्फाको साधारण सभा नगर्ने, साधारण सभा पनि आफ्नै घरमा प्रलोभनमा पारेर गराउने, आफ्ना विरोधीहरूलाई कार्यसमितिबाट हटाउने, आफू अनुकूलको निर्णय गर्ने गरेको आरोप छ ।

अध्यक्ष शाहले एन्फाको तत्कालीन अध्यक्ष गणेश थापाको खटनपटनमा काठमाडौं फुटबल संघमा काम गर्ने गरेको आरोप लाग्दै आएको छ ।

काठमाडौं फुटबल संघभित्रको विवादका विषयमा सोधिएको जिज्ञासामा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले संघभित्रको केही कुराहरू आएको बताए ।

उनले भने, ‘काठमाडौं जिल्ला फुटबल संघका केही गुनासाहरू आएका छन् । त्यस विषयमा अहिले बोल्न मिल्दैन । समय आएपछि छानविन र कारबाही प्रक्रिया अगाडि बढाएर बोल्नेछु ।’

प्रतिक्रिया
सम्बन्धित