३ कार्तिक २०८३, मंगलबार

पारिजातको जीवनी “सुश्री पारिजात” को लेखन पूरा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा

वाशिङटन डिसी, २९ फागुन । नेपाली साहित्यकी विख्यात् साहित्यकार पारिजातको बृहत् जीवनी लेखन पूरा भएको साहित्यकार गोविन्द गिरी प्रेरणाले वताएका छन् । साथै नेपालको एक प्रख्यात् प्रकाशन गृहबाट प्रकाशनका लागि अनुवन्ध गरिसकेको समेत खुलाएका छन् ।

पारिजात नेपाली साहित्यमा “शिरिषको फूल“ कृतिका लागि मदन पुरस्कार पाउने प्रथम नेपाली लेखिका हुन् । दार्जिलिङमा जन्मेर आजीवन नेपाल बसेकी पारिजातले ९ उपन्यास, ५ कथा सङ्ग्रह, ३ कविता सङ्ग्रह, ३ आत्मकथात्मक कृति लेखेकी थिइन् ।

साढे चार दशक देखि नेपाली साहित्यका विविध विधामा २५ कृति प्रकाशन गरिसकेका साहित्यकार गोविन्द गिरी प्रेरणाले यो जीवनी लेखनका लागि २० वर्ष लागेको बताए ।

उनले जीवनी लेखनका लागि प्रकाशित सामाग्री सङ्कलन, स्थलगत भ्रमण र सम्वन्धित पचासौँ व्यक्तिहरुसँग अन्तरवार्ताको माध्यमबाट जीवनी लेखनका लागि सामाग्री श्रोत सङ्कलन गरेको तथा लामो समय कष्टसाध्य अध्ययन अनुसन्धान गरेको बताए ।

पारिजातका सम्बन्धीहरु, सुभेच्छुकहरु, साहित्यकारहरु एवम् मित्रहरुले प्रकाशित अप्रकाशित सामाग्रीहरु, चिट्ठीपत्रहरु, डायरीका पानाहरु, समाचारका कटिंगहरु तथा फोटोहरु प्रदान गरेर जीवनीलाई आधिकारिक र पूर्ण बनाउन सहयोग पुगेको जीवनी लेखक प्रेरणाले बताए ।

यसअघि विभिन्न जीवनीकारहरुले पारिजातको जीवनी लेखेका छन् तर आफूले विस्तृत रुपमा उनको जीवनीलाई आधिकारिक रुपमा प्रस्तुत गर्न प्रयास गरेको र कतिपय नयाँ तथ्यहरुलाई पुस्तकमा देख्न पाइने बताए भने कतिपय भ्रमहरुलाई तथ्य र प्रमाणले गलत प्रमाणित गर्ने बताए ।

साहित्यकार प्रेरणा अनेसास मेट्रो च्पाप्टरका संस्थापक सचिव एवं पूर्व अध्यक्ष तथा आजिवन सदस्य हुन् । सन् २०१४ मा उनले स्थापना गरेको अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् ।

उनको संयोजकत्वमा महाकवि देवकोटाको ७ दिने शतवार्षिकी समारोह वाशिङटन डिसीमा आयोजना गरिएको थियो । उनले एक दशक “विश्वपरिक्रमा“ पाक्षिक छापा अखवार समेत सम्पादन प्रकाशन गरेका थिए ।