जनकपुरधाम, २७ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता एवम् प्रतिनिधि सभाका सांसद राजेन्द्र महताका ज्वाइँ अनिलकुमार महासेठले सांसद विकाश कोषको रकम आफू अनुकूल प्रयोग गरेको भन्दै आलोचना भएको छ ।
महतो धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । क्षेत्र नं. ३ मा जसपाका नेता कार्यकर्ताको रोजाइमा भन्दा पनि महतोको ज्वाइँको चाहनामा बजेट खर्च हुने गरेको छ । जसपाका कार्यकर्ताहरूले महतोको ज्वाइँ हर्कतले पार्टी संगठन कमजोर भएको भन्दै आक्रोश पोखेका छन् ।
महतोले आफ्ना ज्वाइँ महासेठलाई प्रदेश २ का सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकार बनाएका छन् ।
महासेठले नै सांसद विकास कोषबाट हुने कामको योजना बाँड्दै आइरहेको जसपाका एक नेताले बताएका छन् । महतोका ज्वाइँ महासेठ सांसद विकास कोषको योजनाको रकम आफू अनुकूल वितरण गरेर योजनाहरूको पनि आफैले शिलान्यास गर्ने गरेका छन् ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर ९ स्थित इटहर्वामा संसदीय विकास कोषको रकमबाट सामुदायिक भवनको शिलान्यास मंगलबार महासेठले गरेका छन् ।
२० लाखको बजेट रहेको सो योजनामा त्यहाँ २ वटा पक्की कोठाको सामुदायिक भवन निर्माण गर्ने लक्ष्य छ ।
स्थानीयवासीले आफ्ना कार्यकर्ताहरूलाई फाइदा पु¥याउने गरी सो भवन निर्माण योजना ल्याइएको आरोप लगाएका छन् ।
महतोको संसदीय विकास कोषबाट हुने काम र खर्च ज्वाइँ महासेठले जसलाई चाहन्छन्, उसैलाई दिने गरिएको गुनासो स्थानीयको छ ।
विदेह नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जुमरात नदाफले शिलान्यास गर्ने दिन कार्यक्रम छ भनेर आमन्त्रित गरिए पनि कार्यक्रमबारे पूर्ववत् जानकारी नगराएकाले आफू उपस्थित हुन नसकेको बताएका छन् ।
वडाध्यक्ष नदाफले संसदीय विकास कोषको रकममा सांसदको ज्वाइँले चलाएर दुरुपयोग गरेको बताएका छन् ।
महतोको संसदीय विकास कोषबाट विदेह नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवन निर्माणका लागि नगरपालिकासँग कुनै प्रकारको समन्वय नगरिएको नगर प्रमुख बेचन दासले बताएका छन् ।
सोही नगरपालिकामा वडा नम्बर ३ को एक पोखरीको सौन्दर्यीकरणका लागि काम अगाडि बढाइए पनि समन्वय नगरिएको उनले बताएका छन् ।















प्रतिक्रिया