मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

अमेरिकी राष्ट्रपति बाइडेनको राहत प्याकेजसम्बन्धी विधेयक पारित

दैनिक नेपाल २०७७ फागुन २७ गते ८:३८

न्युर्योक, २७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेजसम्बन्धी विधेयक पारित भएको छ ।

१.९ ट्रिलियन अर्थात् १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज हाउस अफ रेप्रिजेनटेटिभबाट पनि पारित भएको हो । यसअघि यो विधेयक माथिल्लो सदन सिनेटबाट पारित भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण जनजीविकामै समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज ल्याइएको राष्ट्रपति बाइडेनले बताए ।

राष्ट्रपति बाइडेनले राहत प्याकेज कार्यान्वयनका लागि भोलि हस्ताक्षर गर्ने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि यसले कानूनी रूप पाउनेछ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख ४२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । दुई करोड ९८ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ ।

बाइडेनले ल्याएको राहत प्याकेजअनुसार प्रत्येक नागरिकलाई १४०० डलर दिइने प्रस्ताव गरिएको छ । यस्तै बेरोजगारहरूलाई दिने गरिएको हप्तामा तीन सय डलरको सुविधाले सेप्टेम्बरसम्म निरन्तरता पाउने बताइएको छ ।

साथै यो प्याकेजले राज्य तथा स्थानीय सरकारलाई तीन सय ५० अर्ब डलर, विद्यालय खुलाउन सहजीकरणका लागि सय ३० अर्ब डलर, कोभिड–१९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर र कोरोनाविरुद्धको खोप वितरणमा १४ अर्ब डलर छुट्ट्याउने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित