बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

गोपाल किराती र सन्ध्या तिवारीले पार्टीको नाम फेर्छन कि अदालत जान्छन् ?

दैनिक नेपाल २०७७ फागुन २४ गते १४:२६

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद अन्त्य भएसँगै नेकपा (माओवादी केन्द्र) का गोपाल किराती र नेकपा (एमाले)की सन्ध्या तिवारीको पार्टीको अवस्था के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

अहिले सन्ध्या तिवारीको नेतृत्वमा रहेको एमाले र गोपाल किराँतीको नेतृत्वमा रहेको माओवादी केन्द्रको नाम दर्ता छ । तर आइतबार सर्वोच्च अदालतले गरेको फैसलाले हाल निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्रका नाममा दर्ता रहेका दुई पार्टी खारेज हुने संकेत गरेको छ ।

किनभने हाल प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको नेकपाको वैधानिकता सकिएको छ भने ऋषि कट्टेलले नेकपाको आधिकारिकता पाएका छन् । तर, कानूनसम्मत ढंगबाट निर्वाचन आयोगमा दर्ता भएको पार्टी स्वतः खारेज हुने निर्णय अव्यवहारिक र राजनीतिक मात्रै भएको चर्चासँगै उनीहरु पुनः कानूनी उपचारका लागि अदालत जानसक्ने बाटो खुला छ ।

यद्यपि, किराँती प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा र तिवारी ओली नेतृत्वको एमालेमा समाहित हुने अवस्था पनि त । तर, सन्ध्या तिवारी र गोपाल किरातीले भने ओली र प्रचण्डलाई आ–आफ्नो पार्टीमा आउन अपिल गरिरहेका छन् ।

यसैबीच आयोगमा दर्ता एमालेकी अध्यक्ष सन्ध्या तिवारीले भने सर्वोच्चको फैसला स्वीकार गर्ने तर, आफूहरू केपी ओली नेतृत्वको एमालेमा समाहित नहुने प्रतिक्रिया सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गरिसकेकी छिन् ।

त्यतिमात्र होइन तिवारीले आफ्नो पार्टीको नाम परिवर्तनको प्रक्रिया समेत अगाडि बढाइसकेको बताएकी छिन् । पार्टीको नाम फेर्नेबारे उनले आफ्नो पार्टीमा छलफल चलाएको भए पनि के नाम राख्ने भन्ने निर्णयमा पुगिनसकेको बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित