४ कार्तिक २०८३, बुधबार

ट्राफिक महाशाखाद्वारा राष्ट्रिय युवा परिषद्का २०० जना ‘ट्राफिक स्वयमसेवक’ परिचालन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।

महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न कलेजका २०० जना बिद्यार्थीहरुलाई ट्राफिक महाशाखामा प्रशिक्षित गरि काठमाडौंका विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको बताइएको छ । महाशाखाले ती स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नाका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने एसएसपी भट्टराईले जानकारी दिए ।

एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने भन्दै ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास उनले व्यक्त गरे । जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा भएका दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उनले पैदलयात्रूको बढी भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि सहजता ल्याउने बताए ।

उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटना परी अनाहकमा ज्यान गुमाउनाको साथै अंगभङ्ग हुने गरेको छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाही तरिकाले सडक पार गर्ने र जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ ।

यसअघि महाशाखाले नेपाल स्काउट, सामुदायिक सेवा केन्द्रका युवा विद्यार्थीहरुलाई समेत प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ ।