बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औं वर्षमा प्रवेश

दैनिक नेपाल २०७७ फागुन २२ गते १४:०७

काठमाडौं, २२ फागुन । नेपालको ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल शनिबारदेखि १८औं वर्षमा प्रवेश गरेको छ ।

सन् २००४ को मार्च ६ देखि कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो । १७ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको दाबी गरेको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको बताएको छ ।

एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले ई–सेवा र फोन–पेलगायत मोबाइल मार्फत हुने भुक्तानीको विकास गरेको छ ।

तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट गु्रपमा अहिले एक हजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । १७औं वार्षिक उत्सवका अवसरमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस र त्यसको फाइदा मुलुकलाई पुगोस भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गर्छौं । हामीले डिजिटल नेपाल बनाएर देशको जीडीपीमा पनि ठूलो योगदान दिन सकौं भन्ने उद्देश्य राखेका छौं । यसका लागि आगामी दिनमा हामी अझ मिहिनेतका साथ लाग्नेछौं ।’

एफवान सफ्ट गु्रप अन्तर्गत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट गु्रप अन्तर्गत ई–सेवा, फोन–पे, ई–सेवा मनी ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालनमा छन् । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्ने गरेको कम्पनीको भनाइ छ ।

नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफ्वान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् । कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा १ करोड १० लाख भन्दा धेरै छन् । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित