बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

दैनिक नेपाल २०७७ फागुन २२ गते १२:३५

तनहुँ, २२ फागुन । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बनेका छन् ।

जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाएका हुन् । करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उनले बताए ।

प्रतिबोट कागती रु २१५ का दरले किनेर ल्याएर उनले व्यावसायिकरुपमा कागती खेती शुरु गरेका हुन् । ‘कागतीको माग अत्यधिक रहेकाले आफू यसतर्फ आकर्षित भएको हुँ’, उनले भने ।

गत साउन महिनामा कागतीको बिरुवा रोपेपछि अहिले नै फल दिन शुरु गरे पनि पहिलो वर्ष फलेको कागती टिपेर नष्ट गरिने उनले बताए । पहिलो वर्षमा फल लाग्न दिँदा बोट वयस्क भइनसक्ने हुँदा पहिलो वर्षको फल टिपेर फ्याक्नुपर्छ । उनले भने, ‘शुरुमा कागती खेती गर्दा करीब रु १४ लाख खर्च भइसकेको छ ।’

नेपालमा उत्पादन गरिएको कागतीले एक महिना पनि नपुग्ने र भारतकै मुख ताक्नुपर्ने अवस्था भएकाले आफू यस खेतीतर्फ लागेको उनको भनाइ छ । अधिकारीले गाउँमा कागती खेती थालेसँगै अन्य तीन जनाले पनि कागती खेती शुरु गरेका छन् । स्थानीय धनबहादुर रानाले ६००, पशुपति विष्टले ३०० र टेकबहादुर रानाले ३०० बोट कागतीका बिरुवा लगाइसकेका छन् ।

विष्टले कृषि ज्ञान केन्द्रबाट अनुदान पाएर कागती लगाएका छन् भने अन्य तीनले आफ्नै लगानीमा कागतीका बिरुवा किनेर लगाएको कृषक अधिकारी बताउँछन् । आगामी वर्षदेखि फल दिन थालेपछि आम्दानीको माध्यम बन्ने कृषक धनबहादुरले बताए ।

गाउँमा दुई चार जना कृषक मिलेर कागती खेती गर्दा कतिपय आफूले नजानेका कुरा पनि सिक्न सहज भएको उनी बताउँछन् । वडाका चार जनाले व्यावसायिकरुपमा कागती खेती गरेर समुदायका अन्य मानिसलाई पनि प्रोत्साहन गर्ने कार्य भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । रासस

प्रतिक्रिया
सम्बन्धित