
स्याङ्जा, २१ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी छिन् ।
गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीता)को एवं विरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।
सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उनले सरकार हटाउने नै भए विधि र प्रक्रियामार्फत आउन आग्रह गरिन् । ‘हामी सम्मानित संसदबाट सरकार फेर्दा दुःखी हुँदैनौं । हामी जनताका मान्छे हौं, जनताको बीचमा आउँदा खुशी नै हुन्छौं’, मन्त्री अर्यालले भनिन्, ‘तर संसद आह्वान भएको छ । प्रधानमन्त्री हटाउछौं भन्नेहरुले विधिसम्मत ढंगले अगाडि आउनुपर्छ ।’
‘संसद् शुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउनेवाला छैनौं’, उनले भनिन् । पार्टीका शीर्ष नेतृत्वबीचको अस्वस्थ खेल, पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको उनको भनाइ छ । यसले अस्थिरता ल्याएको भन्दै उनले फेरि सत्ताको गणितीय खेल शुरु भएकाले यसबाट मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको दाबी गरिन् ।















प्रतिक्रिया