
काठमाडौं, २१ फागुन । अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति निकालेर एसिड आक्रमणको अन्त्यका लागि निरन्तर काम गरेको भन्दै खातुनलाई प्रतिष्ठित पुरस्कार दिने निर्णय भएको उल्लेख गरेको छ । ठूलो व्यक्तिगत जोखिम, त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गर्ने विश्वभरका महिलाहरुलाई यो पुरस्कार दिइँदै आएको छ ।
अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कनले आउँदो मार्च ८ (फागुन २४ गते) भर्चुअल कार्यक्रम गरेर पुरस्कार वितरण गरिने दूतावासले जनाएको छ ।
पुरस्कार सिफारिससँगै मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली र सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन् ।
१५ वर्षकी छँदै एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको थियो । अनुहार, छाती र हातमा गहिरो चोट लागेकी मुस्कान लामो समयमो अस्पताल बसाईपछि अहिले ठिक भएकी छिन् ।
आफू ठिक भएपछि उनले एसिड आक्रमणविरुद्ध कडा कानुन र सजायको लागि वकालत गर्दै आएकी छिन् । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एसिड आक्रमणकारीलाई कडा सजायको व्यवस्था गर्न माग समेत गरिन् ।
फलस्वरुप सरकारले पनि तेजाब आक्रमणसम्बन्धी अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गर्यो । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण रहेको चर्चा गरिन्छ ।















प्रतिक्रिया