महेन्द्रनगर, २१ फागुन । कञ्चनपुरमा तस्कर र प्रहरीबीच भएको दोहोरो भिडन्तका क्रममा मारिएका भारतीय युवकको पहिचान खुलेको छ ।
बिहीबार जिल्लाको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तका क्रममा भारतको पिलीभितका अन्दाजी २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि बेलौरी पुगेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतक सिंहसहितका केही भारतीयले नेपालतर्फ सामान तस्करी गरिरहेको अवस्थामा गोली चलेको बताए ।
गस्तीमा खटिएका प्रहरीमाथि तस्करले गोली चलाएपछि फायर खोल्नुपरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
बिहीबार साँझ करिब साढे ६ बजेतिर उक्त घटना भएको थियो । अहिले मृतकको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । शुक्रबार सबै कानूनी प्रक्रिया सकेर शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।











प्रतिक्रिया