
काठमाडौं, २० फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा लगाएको छ ।
सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट फेला पारेका २७ मोटरसाइकल धनीलाई जिम्मा लगाएको हो ।
उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमका बीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।
महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका विभिन्न स्थानहरूबाट यी मोटरसाइकलहरु बरामद गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाले ट्राफिक व्यवस्थापनसँगै मोटरसाइकल चोरी नियन्त्रण तर्फ पनि सक्रिय भई टोली परिचालन गरिरहेको छ । चोरीमा संलग्न मानिस र मोटरसाईकल नियन्त्रणको संख्यामा उल्लेख्य बृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी ल्याउन महाशाखा सफल भएको छ ।
आज मात्रै करिव ८० लाख बढि मुल्य बराबरको बिभिन्न कम्पनीका मोटरसाईकलहरु सम्बन्धित धनिलाई बुझाएको छ भने यस बर्षमा करिब १६ करोड बढि मुल्य पर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
लामो समयसम्म पार्किङ्ग, एकान्त र अध्याँरो स्थानमा पार्किङ्ग गर्दा र अतिरिक्त लक तथा साईरनको प्रयोग नगर्दा चोरी हुने सम्भावना अत्याधिक हुने हुनाले सम्बन्धित मोटरसाईकल धनी एव चालक स्वयंम होसियार रहनु पर्ने महाशाखाको कथन छ । सम्बन्धित सवारी धनी एवम् चालक नै चोरी नियन्त्रणको एक प्रमुख कारक भएको हुनाले पार्किङ्ग गर्दा बिशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने महाशाखाको सुझाव छ ।
यस आर्थिक वर्षमा मात्रै हराएका २७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।















प्रतिक्रिया