बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्ड–माधव निकट सांसद चौधरी ‘जवज’को पक्षमा

दैनिक नेपाल २०७७ फागुन १९ गते ६:५१

गंगा चौधरी, सांसद, नेकपा

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवम् प्रतिनिधि सभाकी सांसद गंगा चौधरी सत्गवाँले आफू ‘जनताको बहुदलीय जनवाद’को पक्षमा रहेको जनाएकी छिन् ।

सांसद चौधरीले आफू जवजको पक्षमा रहेको जनाएकी हुन् । नेतृ चौधरीले मंगलबार अपील जारी गरेर भनेकी छिन्, ‘यदि तपाईहरूले पार्टीलाई एकढिक्का राख्न र बनाउन सक्नु भएन भने अन्तिममा पार्टी फुट्ने निश्चित नै भयो भने कुनै एउटा पक्षलाई साथ दिनुपर्दा मेरो प्राथमिकता ‘जनताको बहुदलीय जनवाद’को मूलधारको प्रतिनिधित्व गर्ने, राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रने, दुबै मित्र राष्ट्रलाई समदुरीमा राख्न सक्ने ल्याकत भएको, जनजीविकाको सवाललाई उच्च प्राथमिकता दिने, राजनीतिक स्थिरताको सहि पक्षधर, मुलुकको विकास र समृद्धिको लागि खरो उत्रन सक्ने क्षमता भएको र आम जनताले तुलनात्मक रुपमा रुचाएको पक्षलाई मेरो साथ र सहयोग रहनेछ ।’

‘मेरो पहिलो प्रयास र प्राथमिकता जनताको झण्डै दुई तिहाई बहुमत प्राप्त पार्टी नेकपा एक ढिक्का राख्नेमा हुनेछ’, सांसद चौधरीले भनेकी छिन् ।

‘जनताले माया , विश्वास र भरोसा गरेको हाम्रो पार्टी नेकपाको अहिलेको विषम परिस्थितिलाई टुलुटुलु हेर्न विवश हुनुपर्दा मेरो मन रोएको छ, मुटु छियाछिया भएको छ’, उनले भनेकी छिन्, ‘पार्टीका आमकार्यकर्ता र शुभेच्छुकहरू चिन्तित भएका छन् ।’

‘अहिलेको समस्याको मूल जड भनेको नेतागणमा देखिएको र मौलाएको चरम पदलोलुपता नै हो भन्ने मेरो ठम्याई छ’, उनले भनेकी छिन् ।

‘पटक–पटक अवसर पाई सकेका र जनताको नजरमा टेस्टेड भई सकेका नेताहरुमा देखिएको सत्तालिप्सा र बाँचुञ्जेलसम्म नेत्रृत्व छोड्न नसक्ने नचाहने प्रवृत्ति नै समस्याको कारक हो भन्ने मलाई लाग्दछ’, सांसद चौधरीले भनेकी छिन् ।

‘म आदरणीय नेता कमरेडहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु कि ६५ वर्ष नाघेका, पटक पटक र लामो अवधि पार्टी र सरकारको नेतृत्व गरिसक्नु भएका नेताहरूले अब हाम्रो पालो पुग्यो हामी स्वेच्छिक रुपमा दोस्रो तथा युवा पुस्तालाई नेतृत्व हस्तांतरण गर्छौं र पार्टीको संरक्षक र सल्लाहकारको भूमिकामा रहन्छौं भनेर संयुक्त विज्ञप्ति निकालेर घोषणा गरिदिनुस्’, उनले भनेकी छिन् ।

‘सक्रिय राजनीतिबाट विश्राम लिनु होस्’, नेतृ चौधरीले भनेकी छिन्, ‘यसबाट तपाईहरूको उचाइँ बढ्नेछ । जय जयकार हुनेछ ।’

‘दोस्रो पुस्ताका प्रभावशाली नेता कमरेडहरूलाई पनि विशेष अनुरोध गर्न चाहन्छु कि तपाईहरू पार्टीको यस्तो विडम्बनापूर्ण परिस्थितिलाई टुलुटुलु हेरेर नबस्नुस्’, उनले भनेकी छिन् ।

‘पार्टीलाई एकढिक्का बनाउन सशक्त र प्रभावकारी भूमिका खेल्नुस् आजै अहिल्यैदेखि लाग्नु होस्’, नेतृ चौधरीले भनेकी छिन् ।

सांसद चौधरी नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहतिर छिन् । उनले मंगलबार अपील जारी गरेर कानूनी रुपमा पार्टी विभाजन भयो भने ‘जवज’को पक्षमा आफू जाने बताएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित