मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

ताप्लेजुङमा आगलागी, ४९ घर जले

दैनिक नेपाल २०७७ फागुन १९ गते ६:४३

ताप्लेजुङ, १९ फागुन । ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन् ।

आगलागीबाट ५५ परिवार विस्थापित भएका छन् । भौतिक क्षति यकिन भइसकेको छैन । बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए ।

स्थानीय प्रेम न्यौपानेले सोमबार बिर्तामोड झापाबाट दुई ट्रक युरिया र डीएपी मल, एक गाडी खाद्यान्न ल्याएका थिए । बेलुकी अबेरसम्म अनलोड गरे ।

पाँच लाख रुपैयाँबराबरको उक्त सामान न्यौपानेले थन्क्याउनै पाएका थिएनन् । पसलमा १० लाखको खाद्यान्न छँदै थियो । मंगलबार सबै खरानी बनेको न्यौपानेले बताएका छन ।

स्थानीय प्रदीप पोख्रेलका किराना र लत्ता कपडाका पसल थिए । पसलका सबै सामान खरानी बनेका छन् । दुवै पसलमा गरी ८० लाख रुपैयाँभन्दा बढीको सामान जलेको छ ।

फुङलिङ र फिदिम नगरपालिकाका दमकल र एस्काभेटर प्रयोग गरी आगो थप फैलनबाट रोकिएको थियो । त्यस क्रममा दुई घर भत्काइएको थियो । आगो मंगलबार साँझसम्म पनि पूर्ण नियन्त्रणमा भने आएको छैन ।

प्रतिक्रिया
सम्बन्धित