शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘लड्डु काण्ड’ले प्रचण्डलाई तनाब, यसबारे के छ प्रतिक्रिया ?

दैनिक नेपाल २०७७ फागुन १६ गते ९:५५

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लड्डु खाएको विषयमा बबण्डर हुन्छ भनेर आफूले नसोँचेको बताएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा दाहालले लड्डु खाएको विषयमा भएका टिकाटिप्पणी र आलोचनाप्रति असन्तुष्टि जनाएका छन् । उनले अलिक धेरै आलोचना भएको भन्दै बचाउ गरेका छन् ।

‘लड्डुको कुरो अलिक बढि भयो । हामीले कसैलाई लड्डु ल्याउ त भनेको पनि होइन त्यो दिन’, उनले भने, ‘माधवजी बसेको होटेलमा साथीहरू स्वतः स्फूर्त आए । म पनि त्यहिँ थिएँ ।’

‘लड्डु बोकेर आए । खुवाउनु प¥यो एकअर्कालाई भने हामीले बडो सहज ढंगले ठीक छ यसले एउटा भावना साटासाट हुन्छ भनेर गरियो’, दाहालले भनेका छन्, ‘त्यो सोँचेर सम्झेर गरेको थिएन । जित भयो । बधाइ साटासाट भयो । साथीहरूले खुसी भएर ल्याएर लड्डु खुवाए । खाइयो । यसलाई यत्रो बनाउन थालियो ।’

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई खारेज गरिदिएको दिन भरतपुरमा दाहाल र माधव नेपालले लड्डु एकअर्कालाई खुवाएर खुसीयाली मनाएका थिए । लड्डु खाएको विषयमा दाहाल–नेपालको आलोचना भएको थियो ।

नेकपाका अध्यक्ष दाहालले आफूबाट धेरै गल्तीहरू भएको स्वीकार गरेका छन् । उनले गल्तीहरू भएकामा आफूलाई पश्चाताप भएको बताएका छन् ।

‘शान्ति प्रक्रियामा आएपछि मेरा पनि त्रुटिहरू भए । मैले पनि गल्ती गरेको छु भनिराखेको छु’, उनले भनेका छन् ।

अध्यक्ष दाहालले आफूले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराललाई धोका दिएर गल्ती गरेको बताएका छन् ।

‘गिरिजाबाबुलाई तरुन्त राष्ट्रपति बनाउनु पर्ने थियो । गल्ती भयो । मलाई पश्चाताप छ’, उनले भने, ‘अरु पनि मेरा गल्ती छन् ।’

‘अहिले पनि केपी ओलीलाई समयमा सच्याउनको लागि दवाव दिनतिरभन्दा उनीसँग फकाउनतिर लागे बढि’, उनले भने, ‘यो फकाउन लाग्नु चाहिँ घातक थियो ।’

नेकपाका अध्यक्ष दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीसँग नजाने दाबी गरेका छन् ।

‘प्रधानमन्त्री जो भएपनि हुन्छ । म हुन्छु भनेर दाबी गरेको छैन । समझदारी भयो भने जोपनि हुन सक्छ’, उनले भने, ‘जसपा पनि प्रधानमन्त्री हुन सक्छ । देउवालाई प्रधानमन्त्री बनाउन सकिन्छ ।’

‘मैले पहिला भनिसकेको छु । सडकमा गएका मध्ये एउटा देउवा पनि हो । अहिले नै मैले डिक्लियर गर्ने कुरा होइन । जसपासँग पनि कुरा भइरहेको छ’, दाहालले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित