बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेकपाले देश चलाउन नसक्ने भयो, ०७८ सालभित्र निर्वाचन गरौँः खतिवडा

दैनिक नेपाल २०७७ फागुन १३ गते ११:००

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेकपाले देश चलाउन नसक्ने भन्दै ०७८ सालभित्र निर्वाचन गर्ने गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार सम्वाद क्लव नेपालले आयोजना गरेको कार्यक्रममा खतिवडाले मुलुकलाई छिटोभन्दा छिटो चुनावको बाटोमा लैजानुपर्ने बताए ।

‘कम्युनिस्टहरूले मुलुक चलाउन सकेनन् । हामीले पनि अरु कुरा नगरेर यो संसदलाई छिटोभन्दा छिटो चुनावको बाटोमा लिएर जनताको जनमतले गरेका निर्णयमा जानका लागि पहल गर्नुपर्छ’, खतिवडाले भनेका छन् ।

कांग्रेस नेता खतिवडाले केपी ओली वा पुष्पकमल दाहाल–माधव नेपाल (दाने) समूहलाई सरकार चलाउन बहुमत नपुग्ने भन्दै निर्वाचनमा गएर नयाँ जनादेश ल्याउन सुझाव दिए ।

‘संसद आएपछि पनि यसलाई दुई वर्ष लैजाने, पाँच वर्ष यिनीहरूलाई दिनुपर्छ भन्ने कुरा उपयुक्त हुँदैन’, उनले भने, ‘जसले काम गर्न सक्दैन भनेर भागीरहेको छ । त्यसलाई खाउ–खाउ भन्यो भने झन् काम नहुन सक्छ ।’

सरकार चलाउन एउटै पार्टीको बहुमत नहुने कांग्रेस नेता खतिवडाले बताएका छन् ।

‘संविधानअनुसार कम्युनिस्टले सरकार चलाउन सकेनन् भने अब त झन् एउटै पार्टीको बहुमत हुँदैन’, उनले भने, ‘नेकपाको ‘दाने’ समूहको बहुमत हुँदैन । दाने समूहमा ९० वा १०० सय सांसद होलान् । ९० जना हुँदा सरकार बनाउन थप ३८ जना सांसदको आवश्यक्ता पर्छ । मधेस केन्द्रित दललाई लिँदा पनि संख्या पुग्दैन ।’

सरकार बनाउन र बहुमत पुर्‍याउन सांसद किन बेचको कुरा हुन सक्नेभन्दै कांग्रेस नेता खतिवडाले गलत राजनीतिक संस्कार नभित्र्याउन सचेत गराएका छन् ।

‘सरकार बनाउन बहुमत पुर्‍याउन फेरि ब्रिफकेसकै कुरा गर्ने ? राम्रो मन्त्रालयको कुरा गरेर ल्याउने काम भयो भने गलत प्रवृत्तिको शुरुवात हुन्छ’, खतिवडाले भने, ‘यो काममा नेकपाका नेताहरू प्रस्तुत नहुन अनुरोध छ ।’

खतिवडाले कम्युनिस्टहरू सरकार चलाउन असफल भएको भन्दै सरकार चलाउनका लागि अनुरोध गरे भने चलाउनुपर्ने बताएका छन् ।

‘कांग्रेसका नेताहरू पनि प्रधानमन्त्री, मन्त्री बनेर लामो समय काम गर्छु भन्ने होइन’, उनले भने, ‘सरकार चलाउन अफर गरे भने कसैले त सरकार चलाइदिनुपर्‍यो नि । त्यसको बिकल्पमा संसदबाट सहमतिमा कात्तिक वा मंसिरमा चुनाव हुने प्रस्तावसहित लगेर अगाडि बढ्नुपर्छ ।’

‘ओली वा दाने समूहबाट देशको विकास हुँदैन । ट्वाइलेट गएका मान्छे मन्त्री भएको कुरा पनि आएका छन्’, खतिवडाले भने, ‘कम्युनिस्ट मन्त्रीका पत्नीहरू धनी भएका छन् । मन्त्रीका पन्तीहरूसँग गोरेसँग भन्दा धेरै सुन छ । मन्त्रीहरू धनी भएका छन् । सिन्धुर किन्ने पैसा छैन भनेर जनवादी विवाह गर्ने । गोरेसँग भन्दा धेरै सम्पत्ति राख्ने ।’

खतिवडाले भनेका छन्, ‘मन्त्री नहुँदासम्म साइकल चढ्ने । मन्त्री भएपछि २० वटा गाडी अगाडि पछाडि हिँडाउने ।’

खतिवडाले कम्युनिस्टहरूमा विकृति आएको बताएका छन् । ‘सहमतिका साथ ०७८ सालभित्र ताजा जनादेशमा जानुको बिकल्प देखिदैन’, उनले भनेका छन् ।

‘शुरुदेखिनै ओलीजीले संविधान उल्लंघन गर्न थाल्नुभयो । कृष्णबहादुर महरा र शिवमाया तुम्बाहाम्फेलाई सभामुख र उप–सभामुख बनाउनुभयो । संविधान भत्काउन थाल्नुभयो ।’

उनले भने, ‘संसदको शपथ नलिएर एकै पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुभयो । २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीजीले आफ्नो शपथ ग्रहण गर्नुभयो । फागुन २० गते संसदको शपथ ग्रहण गर्नुभयो ।’

‘मन्त्री हुन छ महिनाका लागि संसद सदस्य नभए पनि हुन्छ । छ महिना मन्त्री बन्न पाउँछ’, उनले भने, ‘प्रधानमन्त्री हुनका लागि सांसद अनिर्वाय चाहिन्छ । त्यो पनि प्रतिनिधि सभाको सदस्य हुनुपर्छ । त्यसलाई शुरुमै आक्रमण गर्ने काम प्रधानमन्त्रीले गर्नुभयो ।’

‘तत्कालीन समयमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल वा अहिलेका क्रान्तिकारी साथीहरू कोही पनि संविधान मिचिदा एक शब्द बोल्नुभएन’, उनले भने, ‘संविधान मिच्नका लागि उहाँहरूको निरन्तर सहयोग रहिरह्यो ।’

‘ओलीले वडामा हारेकालाई सांसद बनाउन थाल्नुभयो । गाउँपालिकामा हारेकालाई राष्ट्रिय सभामा ल्याउनुभयो । मेयरमा हारेकालाई प्रदेश प्रमुख बनाउने’, कांग्रेस नेता खतिवडाले भने, ‘जे गरे पनि हुन्छ भन्ने मानसिकता प्रधानमन्त्रीमा रहन गयो । उहाँले संसद विघटन गर्नुभयो ।’

उनले भनेका छन्, ‘संसद कानून र संविधान सम्मत थिएन भनेर सर्वोच्च अदालतले त्यसलाई पुनःबहाली गर्ने निर्णय गरेको छ । कसैको जित हारको विषय थिएन । यो मुलुकको संविधानको जित थियो । हामीले बनाएको संविधानको जित थियो । संविधानमा उल्लेख गरिएका कुराहरूको जित थियो ।’

‘कम्युनिस्ट पार्टीका नेताहरू एकअर्कामा यस्तो लाजमर्दो अवस्थामा प्रस्तुत हुनुभयो । प्रत्येक कुरामा उहाँहरू सेटिङ देख्नुभयो’, उनले आरोप लगाएका छन् ।

‘संसद विघटन हुँदा हामीले शुरुमे असंवैधानिक, अराजनीतिक, अख्तियारको दुरुपयोग, प्रधानमन्त्रीले अनाधिकृत काम गर्नुभयो भनेर कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गरेको छ’, उनले भनेका छन् ।

‘कानूनी राज्य, प्रेस स्वतन्त्रता र माधवअधिकारको पक्षमा कांग्रेस छ’, उनले भने, ‘कांग्रेसले अदालतले जे निर्णय गर्छ त्यसलाई मान्नुपर्छ भनेर कांग्रेसले शुरुवातमा भनेको छ । अदालतले संविधान र जनताको पक्षमा फैसला गरेको छ ।’

उनले भने, ‘चित्त नबुझ्ने वित्तिकै संसद विघटन गर्ने, प्रदेशमा हारेकालाई ल्याएर मन्त्री बनाइदिने काम भएको छ । संवैधानिक आयोगका मान्छेहरू पनि कोटका मान्छेहरू नियुक्ति गर्ने काम भयो । आफ्ना विरुद्ध बोल्नेलाई प्रहरी लगाएर थुनिदिने काम भएको छ ।’

‘संसद पुनस्थापना गरेर ओलीको अधिनायकवादविरुद्ध रोक लगाएको छ । ओलीको मान्छे २० जना सांसद ल्याएर आउनेलाई प्रधानमन्त्री दिने दाहाल माधव समूहले बम्पर उपहार गएको छ रे । बम्पर उपहार हुन थाल्यो भने संविधान फेरि कता जाला ?’, खतिवडाले प्रश्न गर्दै भनेका छन् ।

‘नेकपाको गुटले चलाएर मुलुक निर्माण हुँदैन । सांसद किन्ने । मन्त्रालय दिने काम गर्नुभयो भने दुर्भाग्य हुनेछ’, कांग्रेस नेता खतिवडाले सचेत गराएका छन् ।

‘भोलिका दिनमा छिटोभन्दा छिटो चुनावको वातावरण बनाउने हो’, उनले भने, ‘संविधान अनुसार चलाउन सकेनन भने उनीहरूलाई जनताले हराउनेछन् । कम्युनिस्टले देश चलाउन सक्दैनन् भन्ने पुष्टि भइसकेको छ ।’

प्रतिक्रिया
सम्बन्धित