शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेकपाका युवा नेता बस्नेतले औँल्याए आगामी तीन विकल्पहरु

दैनिक नेपाल २०७७ फागुन १२ गते २०:२१

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले संकट पैदा भइरहेको नेपाली राजनीतिमा आगामी दिनमा तीन महत्वपूर्ण विकल्पहरु मात्र रहने औंल्याएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद कुर्सी र सत्ता स्वार्थको लागि मात्र प्रयोग भएकाले विघटन गरी ताजा जनादेशमा गई मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडी बढाउन खोज्नुभए पनि सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिदिएपछि अबका दिनमा मुलुकमा तीन वटामात्र विकल्प भएको बताए ।

राष्ट्रिय युवा संघ नेपालको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री केपी ओलीकै वरिपरी अबको दशौं वर्ष नेपालको राजनीति घुम्ने उल्लेख गर्दै नेपालको राजनीतिको मिसन र भिजन केपी ओलीको वरिपरि घुमिरहेको बताए ।

नेता बस्नेतले पहिलो विकल्पको रुपमा अबको प्रधानमन्त्री केपी ओली नै रहने, दोस्रो विकल्पको रुपमा संविधान अनुसार पुनः अर्को नयाँ सरकार बन्ने अवस्था नभएपछि पुनः निर्वाचनमा गई ताजा जनादेश तथा तेस्रो विकल्पको रुपमा मावध–प्रचण्डद्वारा आत्मघाती विकल्पको रुपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदमा हाल करिव ६४ प्रतिशतभन्दा बढी मत रहेको उल्लेख गर्दै नेता बस्नेतले झण्डै दुई तिहाईको नेतृत्व नेकपाका अध्यक्ष ओलीले नै गरेकाले संसदबाट अर्को सरकार बन्न कठिन रहेको औंल्याए ।

संसदीय दलको निर्विरोध नेताको रुपमा समेत प्रधानमन्त्री ओली नै रहेको स्पष्ट पार्दै उनले पार्टी औपचारीक विभाजन नभएकाले नयाँ सरकार बन्ने अवस्था नरहेको बताए ।

नेकपालाई विभाजन गरी अप्राकृतिक रुपमा गर्न खोजिएको माधव–प्रचण्ड अन्य पार्टीसँग गर्न खोजिएको साँठगाँठले पुनः केपी ओली नै प्रधानमन्त्री हुने दावी गर्दै नेता बस्नेतले कम्युनिष्ट इतिहासले तथा नेपाली युवाहरुले प्रचण्ड–माधवको गद्धारिलाई लत्याउने आक्रोस व्यक्त गरे ।

संसदीय दलमा केपी ओलीविरुद्ध कुनै पनि अविश्वासको प्रस्ताव नआएकाले पार्टी तथा सरकारको नेतृत्व ओली नै रहेको बताउँदै उनले माधव–प्रचण्डको विपक्षमा पार्टीका बहुमत सांसदहरु रहेको समेत सविस्तार उल्लेख गरे ।

अदालतको निर्णय पछि कम्युनिष्टहरुको शासनलाई कांग्रेस तथा जनता समाजवादी पार्टीलाई जिम्मा लगाई नेपालको इतिहासकै सवैभन्दा ठूलो गद्धारि गर्ने कार्यको शुरु गरेको भन्दै प्रचण्ड–माधव समूहप्रति आक्रोस व्यक्त गरे ।

उनले भने, ‘पार्टीलाई तहसनहस बनाई कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा)का नेताहरु डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादवलाई प्रधानमन्त्रीको कुर्सी जिम्मा लगाएमा नेपालको इतिहासमा सवैभन्दा ठूलो गद्धार बन्नुहुनेछ । प्रचण्ड–माधवले प्रधानमन्त्रीको पद किस्तीमा हालेर कांग्रेसलाई बुझाउँदै हुनुहुन्छ । पुनः केपी ओली नै प्रधानमन्त्री वा संविधान अनुसार नयाँ सरकार बन्न सकेन भने हिजो संसद विघटनको विरुद्धमा फैसला गर्ने न्यायाधीशहरु के गर्नुहुन्छ ? यदि त्यसो भएमा अदालतभाथि समेत ठूलो नैतिक संकट आउने छ । अध्यक्ष र प्रधानमन्त्री हुन कम्युनिष्ट पार्टीलाई नै दाउमा राख्ने प्रचण्ड तथा माधवले मुलुकलाई स्थिरता पैदा गर्ने हो भने पुनः प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपामा नै फर्केर आउनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।’

दुई वर्ष स्थिर सरकारको लागि केपी ओलीलाई साथ दिनुपर्ने र पार्टी एकताका बाँकी कामहरु तिव्र गतिमा लैजानुपर्नेमा जोड दिँदै उहाँले पार्टीमा कसैलाई भूमिकाको आवश्यकता भए पार्टीभित्रै छलफलको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।

विगतमा आफुले गरेका गल्ती र कमजोरिलाई कान समातेर उठबस गरी स्वीकारेमा पार्टीमा माधव–प्रचण्डलाई स्थान दिन सकिने स्पष्ट पारे ।

राजनीतिमा प्रचण्ड–माधव विचलित रहेको उल्लेख गर्दै उनले प्रचण्ड–माधव समूहले संसद विघटनको मुद्धामा कहिले अदालत तथा कहिले न्याधिहरुलाई धम्क्यउने गरेको स्पष्ट पारे । अहिले आफ्नो पक्षमा नतिजा आउँदा छेपारोले रंग फेरे जस्तो गरी आफ्नो बोलीहरु पर्ने काम गरिरहेको उनले बताए ।

अदालतको फैसलाले २०५२ साल देखि २०६२ सालबीचको जस्तो द्वन्दमा फस्ने खतरा रहेको औंल्याउँदै उनले संसद पुनस्र्थापनाले नेपालको राजनीति कांग्रेसको हातमा पुर्याउनेहरुले विजयी जुलुश निकालेको समेत बताए ।

उनले बाबुराम भट्टराई र झलनाथ खनाल उपचारको बहानामा विदेशीको इशारामा चलेको बताए । संसद पुर्नस्थापना भएकोमा कोही खुसी हुनु पर्ने कारण नभएको भन्दै नेता बस्नेतले कम्युनिष्ट सत्ता च्युत गरेर प्रचण्ड र माधवले काँग्रेसको पाउँमा सत्ता बुझाउन लागेको बताए ।

उनले भने, ‘बाबुराम भट्टराईको के रोग रहेछ सबैले बुझिसके । अदालतको फैसला आएसँगै उनको रोग निको हुनु भनेको देश बर्बाद गर्ने रोग नै बाबुरामको भएको । बाबुरामको रोग केपी ओलीलाई सत्ता च्युत गर्ने र विदेशीहरुको इशारामा मुलुकलाई ध्वस्त पार्ने सपना पुरा नहुँदा उब्जिएको मानसिक रोग थियो, सर्वोच्चको फैसलासँगै उनको रोग निको भयो । माधव र प्रचण्ड यत्तिखेर प्रधानमन्त्री तपाइ भन्दै सेर बहादुर देउवा, बाबुराम भट्टराइ, महन्त ठाकुरका बिन्ती विसाइरहेका छन्, ६३ सिटमा खुम्चेको काग्रेंसलाई किस्तीमा हालेर प्रधानमन्त्री बुझाउदैछन् ।

संसद पुर्नस्थापना भएपछि बाटोमा आउँदै गर्दा केही युवाहरु विजय जुलमा हिँडेको भेटेको भन्दै नेता बस्नेतले संसद पुर्नस्थापनाले खुशी हुनु नपर्ने बताए । ‘हे भाई हो, संसद पुर्नस्थापना भएर सांसद म भए, विजय जुलुस तिमीहरु मनाइरहेका छौ, संसद पुर्नस्थापना भएर नेपालको राजनीति काग्रेंसको पाउँमा प्रचण्ड र माधवले बुझाउदै गर्दा के को विजय उत्सव’ नेता बस्नेतले प्रश्न गरे ।

अदालतको फैसला प्रधानमन्त्रीको पक्षमा आएको भए प्रचण्ड, माधवहरुले सेटिङ भन्ने भन्दै अहिले फैसला अर्कै आएपछि उहाँहरुको परिभाषा फेरिएको बताए । ‘राजनीतिमा उहाँहरु निक्कै बिचलित हुनुहुन्छ भन्ने उदाहारण’ यही काफी भएको नेता बस्नेतको तर्क थियो । नेपालको राजनीतिलाई अस्थिरतातर्फ लान खोजिएको भन्दै नेता बस्नेतले त्यो हुन नदिने बताए ।

कानुनीरुपमा नेकपा विभाजित भइनसकेको अवस्थामा प्रचण्ड माधवले नेकपाको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नै नसक्ने बस्नेतको दावी थियो । संसदिय दलको नेता पनि ओली नै भएकाले प्रचण्ड माधवले संसदिय दलकै बैठक गर्न नसक्ने उनले बताए ।

प्रधानमन्त्री ओली क्षणिक रुपमा हारेको जस्तो देखिए पनि त्यो दुईरचार दिनको कुरा भएको उल्लेख गर्दै उनले प्रतिनिधि सभा विघटनको सिफारिसलाई बदर गर्ने अदालतको फैसलालाई विवादित रहेको बताए ।

’यो जनताको भावना अनुसारको फैसला होइन । यसले लोकतान्त्रिक पद्धतिलाई स्वीकार गर्दैन । यसले राजनीतिलाई सहज निकासतिर लैजाँदैन । अदालतको फैसलालाई हामी सबैले स्वीकार गर्छौं । तर, अदालतले केपी ओलीलाई हराए जस्तो, प्रचण्ड र माधव नेपाललाई जिताएको जस्तो जो देखिएको छ, यो क्षणिक कुरा हो ।’

प्रतिक्रिया
सम्बन्धित