शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कुख्यात माफिया डनकी पत्नी अमेरिकामा पक्राउ

दैनिक नेपाल २०७७ फागुन १२ गते ७:३३

वासिङ्टन, १२ फागुन । कारवास सजाय भोगिरहेका मेक्सिकोका कुख्यात लागुऔषध तस्कर जोआक्विन एल च्यापो गुज्मानकी पत्नीलाई अमेरिकामा लागुऔषध ओसार–प्रसार गरेको आशंकामा गिरफ्तार गरिएको छ ।

३१ वर्षीया एम्मा कारोनेल आइसपुरोलाई वासिङ्टन डीसी नजिकको डल्लेस अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

उनीविरूद्ध कोकिन, मिथाम्फेटामाइन, हेरोइन र गाजा बिक्री वितरणमा सक्रिय रूपमा संलग्न रहेको अभियोग लगाइएको छ ।

लागुऔषध ओसार–प्रसार र मुद्रा अपचलनको अभियोगमा गुज्मान अहिले अमेरिकाकै न्युयोर्कमा आजीवन कारावास संजाय भोगिरहेका छन् । ६३ वर्षीय गुज्मान मेक्सिकोको अत्यन्तै खतरनाक, शक्तिशाली तथा कुख्यात लागुऔषध तस्कर समूह सिनालोआ कार्टेलका पूर्वनाइके हुन् ।

सन् २०१९ मा उनीविरूद्ध मुद्दा चलाइने क्रममा उनको जीवनका डरलाग्दा पक्षहरू उजागर भएका थिए । उनले कम उमेरका अर्थात् १३ वर्ष उमेरसम्मका बालिकाहरूलाई लागुऔषध सेवन गराएर बलात्कार तथा सिनालोआ कार्टेलका र विपक्षी समूहका सदस्यहरूको हत्या गर्ने गरेको तथ्य बाहिर आएको थियो ।

अमेरिकी न्याय विभागले वासिङ्टन डीसीस्थित अदालतमा भिडियो कन्फ्रेन्समार्फत उपस्थित गराई कोरोनेल आइसपुरोविरूद्ध मुद्दा चलाइने जनाएको छ ।

लागुऔषधको कारोबारलगायत उनीविरूद्ध सन् २०१५ मा मेक्सिकोको कारागारबाट आफ्नो लोग्नेलाई भगाउन षड्यन्त्र रचेको पनि अभियोग लगाइएको छ ।

कडा सुरक्षा प्रबन्ध रहेको मेक्सिको एल्टिपाना कारगारबाट निकै रोचक ढंगले तानावाना बुनेर गुज्मान फरार हुन सफल भएका थिए ।

उनका छोराहरूले कारगारनजिक घर किनेपछि कारगारभित्र जिपिएस घडी पुर्‍याइएको थियो । त्यसपछि उनलाई राखिएको निश्चित स्थान पहिल्याएर सुरुङ खनिएको थियो । सोही सुरुङबाट सानो र विशेष खालको मोटरसाइकलमा बसेर गुज्मान बाहिर आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित