शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

राष्ट्रिय खाद्य बैंकले अर्ग्यानिक उत्पादनलाई जोड दिने

सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी

दैनिक नेपाल २०७७ फागुन १० गते १५:०३

काठमाडौं, १० फागुन । ‘पोषिलो आहारका लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ नारासाथ स्थापना भएकोे राष्ट्रिय खाद्य बैकले अर्ग्यानिक उत्पादनलाई जोड दिने बताएको छ ।

कृषि क्षेत्रमा लगानी र रोजगारी वृद्धिसँगै उत्पादनमा वृद्धि गरेर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने बैंकले बताएको छ । बैंकले आज सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा दिएको जानकारी अनुसार राज्यको ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सहयोग गर्ने र क्रमश अर्ग्यानिक उत्पादनलाई बैंकले जोड दिने भएको छ ।

कृषि क्षेत्रमा आवश्यक ज्ञान, शीप, बीउविजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा बैक अगाडि बढिरहेको सो अवसरमा जानकारी दिइयो ।

देशको ७७ ओटै जिल्ला र प्रदेशहरूमा आफ्नो उपस्थिति जनाउँदै कृषि उत्पादन र बजारीकरणमा समर्पित बैंक दुई अर्ब रूपैयाँ लगानीमा स्थापना भएको थियो । बैकले क्रमशः उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य लिएको बताइएको छ ।

हाल बैंक आफैले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दहीदूध, माछामासु, चिया, जडिवुटी लगायतको उत्पादन गर्दै आएको छ । साथै यो बैकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्ने गरेको छ ।

‘देशैभरका किसानहरूसँग सहकार्य गरी गर्ने उदेश्य लिएको बैकले कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कषि समूहहरू, कृषिसँगसम्बन्धी अन्य संघसस्थाहरूसँग पनि सहकार्य गरी कार्य अघि बढाउने लक्ष्य लिएको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सोही अनुसारको कार्य शुरू पनि गरेको छ ।’

बैकले सरकारी खाली जग्गाहरू, सामुदायिक वनका खाली जग्गाहरू, गुठीका जग्गाहरू, व्यक्तिका जग्गाहरू लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने बताएको छ । हालसम्म कैलाली, कञ्चनपुर, वर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सा लगायतका जिल्लाहरूमा जग्गा लिजमा लिने र उत्पादन शुरू गर्ने कार्य अघि बढाइसकेको बैंकले जानकारी दिएको छ ।

४९१ जना प्रमोटर शेयर सदस्य रहेको यस बैकले त्यसलाई अझै विस्तार गर्दै केही वर्षभित्रै साधारण शेयर (आइपीओ) समेत जारी गर्ने लक्ष्य लिएको छ । बैंकले आगामी चैत्र १५ गतेभित्र उद्घाटन गर्ने गरी काठमाडौंको बानेश्वरमा कार्यालय निर्माणको काम गरिरहेको पनि जानकारी दिएको छ ।

उक्त कार्यालयको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउने बैंकको योजना छ ।

धान विज्ञ डा. भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पतीविज्ञ प्राडा चन्द्र प्रकाश पोखरेल, गहूँ विशेषज्ञ डा. मदन भट्ट, पशुपक्षी विज्ञ डा. बलबहादुर चन्द, कृषि विज्ञ शिव यन्दो लगायत १५० जना भन्दा बढी विज्ञहरूको सहभागिता यो बैंकमा छ ।

साथै २०० जना कृषि प्राविधिकहरू पनि यो बैकमा संग्लन रहेको बैंकले जानकारी दिएको छ ।

कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभिप्रायले अगाडि आएको यो बैकले गुणस्तरयुक्त खाद्य सामग्रीहरूलाई सुरक्षित भण्डारण गरी बैंकमार्फत आफ्नै सेल्स डिपो र होम डेलिभरीहरू ई–कर्मशमार्फत विक्रीवितरण गर्ने योजना समेत बनाएको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

प्रतिक्रिया
सम्बन्धित