शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लागुऔषध ओसारपसारमा तीन जना पक्राउ

दैनिक नेपाल २०७७ फागुन १० गते ८:५३

भरतपुर, १० फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् ।

प्रहरीले भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरूलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

कार्यालयले जारी गरेको सूचनामा तामाङको कोठाबाट अनुमति बिना ल्याइएको ट्रामा एक हजार १६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको ४३६ ट्याब्लेट, स्टागन ४४० ट्याब्लेट फेला परेको जनाइएको छ ।

दिनेशको कोठामा रहेका समीरको साथबाट पाँच हजार ३२५ र मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रदीपको साथबाट रु एक लाख २९ हजार ८२२ बरामद गरिएको र उनको घरमा चेकजाँच गर्ने क्रममा ट्रामा आठ हजार ७८० ट्याब्लेट, स्टागन ८०० ट्याब्लेट र नगद रु ११ हजार बरामद गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित