तनहुँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँ, व्यास नगर कमिटीको बैठक सम्पन्न भएको छ ।
पूर्वक्षेत्रीय कमिटीको अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा बसेको उक्त विस्तारित बैठकमा निवर्तमान सासंद एवं नेकपा केन्द्रीय कमिटीका सदस्य कृष्ण कुमार श्रेष्ठ ‘किसान’ प्रमुख अतिथि थिए ।
बैठकमा सम्वोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले अहिले देशमा भएको समस्या पदलोलुपताका कारण सृजना भएको बताए । विधि र विधानका कुरा गर्नेहरु नै अवैधानिक तवरबाट सत्ता कब्जा गर्ने मनसायका साथ आएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्ने अवस्थामा आईपुगेको बताए । ओली नेतृत्वको सरकार नै मुल पार्टी भएको हुँदा कोही पनि नअल्मन र स्थिर सरकारका लागि ओली सरकारले घोषणा गरेको चुनावमा लाग्न निर्देशन दिए ।

यसैगरी बैठकलाई सम्बोधन गर्दै तनहुँ जिल्लाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसासंद केदार सिग्देलले अस्थिरता नचाहने शक्तिका कारण देश यो अवस्थामा आइपुगेको बताए । ओली सरकारको राजीनामा न जनताले न विपक्षी पार्टीले पनि नमागेको सन्दर्भमा माधव कुमार नेपाल र प्रचण्डले मात्र मागेर देशमा अस्थिरता मच्चाउने गतिविधि गरेको उनको भनाइ छ ।
सरकारले देश र जनताका लागि उल्लेख्य काम गरेको तर आफ्नै पार्टीको नेताले त्यसलाई देख्न नसकेको बताउँदै उनले देश केपी ओलीको नेतृत्वमा अगाडि बढेको हुदाँ ढुलमुल नभई सत्यको पक्षमा उभिन आग्रह गरेका छन् । साथै उनले ओली नेतृत्वको नेकपाले यही फागुन १५ गते वृहत् जनसभा पोखरामा गर्न गइरहेको हुँदा सहभागी भएर ताजा जनमतको एजेन्डालाई साथ दिन पनि आग्रह गरे ।
बैठकले पुस १५ गतेको वृहत् प्रदेश स्तरीय जनसभालाई सफल बनाउनका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ ।















प्रतिक्रिया