
काठमाडौं, ८ फागुन । पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका छन् ।
आज शनिबार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा व्यक्त गरेका छन् । शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनुपर्ने भन्दै उनँले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताए ।
समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उनले अरुलाई सेवा गरे बापत् प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा व्यक्त गरेका छन् । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताए ।
नगरपालिकाका शैक्षिक संस्थाहरूलाई आगामी दिनमा अझ सशक्त बनाइने उनले बताए । चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चका अध्यक्ष कुमारराज सुवेदीले संस्कार सहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराए ।
कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराल लगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गरेका थिए ।
सोही अवसरमा पूर्वमन्त्री बस्नेतले चामुण्डाका पूर्व विद्यार्थी समेत रहेका समता स्कुलका सञ्चालक उत्तम सञ्जेललाई सम्मान गरेका छन् ।















प्रतिक्रिया