
चन्द्रौटा (कपिलवस्तु), ८ फागुन । होटेल तथा रेष्टुराँ व्यवसायी संघ कपिलवस्तुले मेची महाकाली यात्रा अभियानको तयारीमा जुटेको छ ।
ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय स्थलहरूले भरिपूर्ण कपिलवस्तुलाई देशभर प्रचार गरी पर्यटक भित्र्याउने उद्देश्यका साथ होटेल व्यवसायी संघ मेची महाकाली यात्रा अभियानको तयारीमा जुटेको हो ।
संघको सचिवालय बैठकले आगामी चैत्र ३ देखि १४ गतेसम्म मेची महाकाली यात्राको मिति तय गरेको छ । भ्रमण अभियानलाई भव्य र सभ्य रूपमा सफल पार्न बैठकले संघका अध्यक्ष गोपाल बहादुर खत्रीको संयोजकत्वमा भ्रमण मूल आयोजक समिति गठन गरेको छ । सचिवालय बैठकले संघका पदाधिकारीहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरेको अध्यक्ष खत्रीले जानकारी दिएका छन् ।
बैठकले बरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तीलाई छपाई तथा मनोरञ्जन संयोजकको जिम्मेवारी दिएको छ । मायाको चिनो व्यवस्थापन संयोजकमा उपाध्यक्ष सोनु सारु र उपसंयोजकमा पर्यटन उपाध्यक्ष गोपीकृष्ण भट्टराईलाई जिम्मा दिइएको छ । यस्तै उपाध्यक्ष रेशम ढकालले यातायात व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।
आर्थिक व्यवस्थापन संयोजकमा कोषाध्यक्ष पदम ढकाल र उपसंयोजकमा रोमलाल पौडेललाई बैठकले जिम्मा लगाएको छ ।
यसैगरी सहसचिव शिवराज सापकोटालाई खाद्यान्न व्यवस्थापन एवं महासंघ केन्द्र, प्रदेश र जिल्ला समन्वय संयोजकको जिम्मा दिएको छ । अतिथि सत्कार संयोजकमा सचिवालय सदस्य बबिता विष्ट र उपसंयोजकमा हरिकला ज्ञवालीलाई जिम्मा लगाएको छ । प्राथमिक उपचार संयोजकको जिम्मा सचिवालय सदस्य ईश्वर अर्यालले पाएका छन् ।
सूचना तथा सञ्चार संयोजकको जिम्मा सचिवालय सदस्य प्रशुराम रौतारलाई दिइएको छ भने कार्यसमितिका अन्य सदस्यहरूलाई विभिन्न उपसमितिमा रही अभियान सफल बनाउन बैठकले अपिल गरेको छ । भ्रमण यात्राको मिति नजिकिंदै गर्दा होटेल व्यवसायी संघले विभिन्न निकायसँगको समन्वयमा तिब्रता दिइएको भ्रमण मूल आयोजक समिति संयोजक गोपाल बहादुर खत्रीले जानकारी दिए ।
विभिन्न उपसमितिका जिम्मा पाएका संयोजकहरूले समेत आ–आफ्नो जिम्मा अनुसारको कामलाई तीब्र गतिमा अगाडि बढाएको अध्यक्ष खत्रीले जानकारी दिए ।
यता होटेल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष एवं छपाई संयोजक लेखनाथ घर्तीले आफूले पाएको जिम्मालाई अन्तिम चरणमा पुर्याएको बताए । उनले कपिलवस्तुको धार्मिक एवं पूरातात्विक स्थलहरूका साथै यहाँको मौलिक संस्कृतिको जगेर्नाका लागि भ्रमण उपलब्धीमूलक रहने विश्वास व्यक्त गरे ।
कपिलवस्तुमा बुद्धले ३० बर्ष विताएको तिलौराकोट, जगदीशपुरताल, कुदान, तौलेश्वरनाथ मन्दिर, सोनवागढ, शिवगढी मन्दिर, शंकरपुर ताल, जामा मस्जिद, कपिलवस्तु संग्रहालय, लक्ष्मणघाट लगायत दर्जनबढी पर्यटकीय स्थल छन् ।
कपिलवस्तुका धार्मिक र पर्यटकीय स्थल, यहाँको कला, संस्कृति र भेषभुषा आदिको परिचय हुने गरी वृत्तचित्र, व्यानर तथा ब्रुसरको माध्यमबाट मेचीमहाकाली यात्रासँगै प्रचारप्रसार गरिने संघका उपाध्यक्ष रेशम ढकालले जानकारी दिए ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका महत्वपूर्ण स्थानमा पुगी त्यहाँका सरोकारवालासँग छलफल गर्ने, अन्तरक्रिया गर्ने र कपिलवस्तुको परिचय समेटिएको वृत्तचित्र, फोटो प्रदर्शनी र ब्रुसरको माध्यमबाट प्रचार गरिने संघका सहसचिव शिवराज सापकोटाले बताए ।
संघका कोषाध्यक्ष पदम ढकालले मेचीमहाकाली यात्राका लागि आर्थिक संकलनका लागि विभिन्न निकायसँग समन्वयकारी भूमिका भएको जानकारी दिए । मेचीमहाकाली भ्रमण यात्रा अभियानले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र समग्र जिल्लाको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गोपालबहादुर खत्रीको विश्वास छ ।















प्रतिक्रिया