३ कार्तिक २०८३, मंगलबार

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि ३१ देशका ६३ वटा चलचित्र छनोट

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि विभिन्न ३१ वटा देशका ६३ वटा चलचित्र छनोट गरेको छ ।

५२ वटा देशबाट ४५० वटा चलचित्र प्राप्त भए पनि ६३ वटालाई महोत्सवमा प्रदर्शन गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आन्तरिक छनोट समितिले दिएको अंकका आधारमा उच्च अंक प्राप्त गर्ने चलचित्रहरूमध्येबाट ३१ देशका ६३ वटा चलचित्रलाई चौथो नेपाल अन्तर्राष्ट्रि चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट गरेको बताइएको छ ।

कोरोना महामारीका कारण विभिन्न सिमितताले गर्दा सबै देशका सबै राम्रा चलचित्र छान्न वा प्रदर्शन गर्न सम्भव नहुने भन्दै आयोजकले कोरोना महामारीको समयमा पनि विश्वास गरेर चलचित्र पठाउने संसारभरका चलचित्रकर्मीप्रति आभार प्रकट गरेको छ ।

पूर्वनिर्धारित मिति भएकाले छानिएका चलचित्रको नामावली सार्वजनिक गर्नैपर्ने बाध्यताका कारण सो प्रतिस्पर्धाका लागि नेपाली फिचर फिल्म फाइनल नागरिकन अरु प्रतिस्पर्धाका लागि छनोट गरिएका चलचित्रको नाम सार्वजनिक गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

त्यसै गरी केही विशेष, उत्कृष्ट र विषय प्रधान चलचित्रहरू पनि प्राप्त भएकाले तिनलाई अप्रतियोगी हुने गरी प्रदर्शन गर्न सकिने उनले बताएका छन् ।

https://youtu.be/cx-1QUt3XXY

हरेक वर्ष फागुनमा आयोजना गरिँदै आएको निफको चौथो संस्करण यो वर्ष यही फागुनको १२ गतेदेखि १६ गते (फेब्रुअरी २४ देखि २८, २०२१) सम्म काठमाडौंमा गर्ने तयारी थियो । तर, कोभिड–१९ पछि फैलिएको महामारीका कारण आगामी वैशाख २३ गतेदेखि २७ गते (मे ६ देखि १०, २०२१) सम्म यो महोत्सव आयोजना गरिँदै छ ।

पूर्वघोषित प्रतिबद्धता अनुसार चौथो निफमा प्रतिस्पर्धा र प्रदर्शन गरिने चलचित्रहरूका नामावली सार्वजनिक गरिएको र महोत्सवबारे थप जानकारी आगामी दिनमा दिदै जाने प्रतिष्ठानले जानकारी दिएको छ ।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित शुरू भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटोगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड वितरण गर्ने तयारी छ ।

कोभिड–१९ ले पारेको प्रभावका विषयमा बनेका यस्ता फिल्मले ५०० अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्ने छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १ हजार ५०० अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ ।

यस्तै ‘इन्टरनेशनल फेडेरेशन अफ फिल्म सोसाईटिज आईएफएफएस डन किजोट अवार्ड’ भने उत्कृष्ट फिचर फिल्मका लागि प्रदान गरिने छ । यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलर राशीको बाग्मती अवार्ड यथावत रूपमा प्रदान गरिने आयोजकले बताएको छ ।

त्यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रू. १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद रू. ५० हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पाठकले जानकारी दिएका छन् ।

छनोटमा परेका चलचित्रहरूको सूची–