
विराटागर, ८ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनतामाझ अनावश्यक भ्रम फैलाएर आफ्नो स्वार्थ पूरा गर्ने सपना नदेख्न प्रचण्ड–माधव समूहलाई चेतावनी दिएका छन् ।
पूर्वमाओवादी खेमाका मन्त्रीले नेकपा छोड्दैछन् भन्ने प्रचण्डको अभिव्यक्ति झूट र भ्रमको खेती भएको भन्दै गृहमन्त्री बादलले जनतालाई भ्रममा पारेर आफ्नो निहित स्वार्थ पूरा गर्ने योजना सफल नहुने स्पष्ट पारेका छन् ।
पार्टीभित्र महत्वाकांक्षी स्वार्थ राखेर पार्टीलाई फुटको अवस्थासम्म पुर्याउनेहरु अहिले हतास मानसिकतामा भ्रमपूर्ण अभिव्यक्तिहरु दिन थालेको थापाको भनाइ छ । पार्टीको अन्तरिक विधानविपरीत आधिकारिकताको विषयमा विवाद गरिरहेको उक्त समूहलाई पार्टीमा स–सम्मान फर्किएर निर्वाचनमा सहभागी हुने समेत अपिल गरेका छन् ।
विरागनगरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले नेकपामा पुनः फर्किन नसक्ने अवस्थामा पार्टी खालेर, छुट्टै चुनाव चिह्न लिएर प्रतिस्पर्धाका लागि निर्वाचनको मैदानमा आउन समेत उनले सबैलाई अपिल गरेका छन् ।
नेपालको विकास र समृद्धि नचाहाने शक्ति त्यो पनि नेकपाभित्रै लुकेकाहरुले वर्तमान अवस्थाको सृजना गरेको उनको भनाइ छ । मुलुकमा विद्यमान अवसरवाद, फुटवाद र पदलोलुपहरुले कम्युनिष्ट पार्टीको दुईतिहाई जनमत सिध्याउन षडयन्त्र गरेकाले आजको परिस्थिति उत्पन्न भएको बताएका छन् ।
अवसरवादीहरुले फुटलाई सफल बनाए पनि जनताको इजलाशले उनीहरुलाई छूट नदिने उनको भनाइ छ । जनताका अगाडि ती फुटवाद, गुटवाद र अवसरवादको भण्डाफोर गर्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने उनले बताएका छन् ।
वर्तमान परिस्थितिले पार्टीभित्र सुद्धिकरणको व्यापक अभियान चलेको भन्दै फुटवादीको भ्रममा नपर्न जनतामा आग्रह गरेका छन् ।















प्रतिक्रिया