शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रतिबन्धहरू फुकुवा गर्न इरानद्वारा अमेरिकी प्रशासनसँग आग्रह

दैनिक नेपाल २०७७ फागुन ८ गते १०:४०

न्युयार्क, ८ फागुन । इरानले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरू फुकुवा गर्न नयाँ अमेरिकी प्रशासन समक्ष आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानको आणविक समस्यालाई लिएर वार्ता गर्न इच्छा व्यक्त गरेलगत्तै इरानले यस्तो धारणा सार्वजनिक गरेको हो ।

इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरू बिना शर्त र प्रभावकारी रुपबाट तत्कालै फिर्ता लिन आग्रह गरेका छन ।

युरोपेली गठबन्धनका देशहरुको अगुवाइमा बाइडेन प्रशासनले इरानसँग वार्ता गर्न इच्छुक रहेको जनाएको थियो । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई बचाउन पनि अमेरिका र युरोपेली देशहरू एक ठाउँमा उभिन लागेका हुन् ।

इरानले आणविक सम्झौता कायम राख्न आइतवारसम्मको समयावधि तोकेको थियो । इरानको परिस्थिति निकै नाजुक बनिसकेको जनाउँदै अझै युरोपेली देशको मात्र कुरा सुनेर धैर्य गर्न नसकिने इरानको भनाइ थियो । अमेरिकी नयाँ विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई आइतवारकै समयसीमा नतोक्न आग्रह गर्नु भएको थियो ।

फ्रान्स, बेलायत र जर्मनीका विदेश मन्त्रीहरुसँगको भिडियो कन्फेरन्स सम्पन्न भएको केही घण्टापछि युरोपेली युनियनका राजनीतिक निर्देशक एन्रिक मोराले ट्वीट गर्दै इरान र अमेरिका सम्मिलित अनौपचारिक बैठक गर्न सहमति जुटेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित