
काठमाडौं, ७ फागुन । परिवर्तित औद्योगिक आवश्यकता अनुसार स्नातक उपाधिधारी विद्यार्थीहरू तयार पार्न आपसी सहकार्य गर्ने विषयमा नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेज अफ इन्जिनियरिङबीच सम्झौता भएको छ ।
हिजो बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्ने धारणा व्यक्त गरे । महासंघका एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा (एडी) ले यस किसिमको बहुआयामिक सहकार्यबाट सिभिल इन्जिनियरिङका विद्यार्थीहरूलाई निर्माण क्षेत्रसँग सम्बन्धित व्यावहारिक ज्ञान हासिल गर्ने चौतारी प्रदान गर्ने विश्वास व्यक्त गरे ।
एड्भान्स्ड कलेजका अध्यक्ष रमेश सिलवालले यस सम्झौताले विद्यार्थीहरूमा निर्माण उद्योगको वास्तविक कार्य अनुभव हासिल हुनाका साथै उनीहरूको ज्ञान र सीपको मूल्यबोध गराउने बताए । वर्तमान युग औद्योगिक प्रतिष्ठानसँग सम्बन्धित इन्जिनियरहरू उत्पादन गर्ने युग रहेको समेत सिलवालले उल्लेख गरे ।
सोही अवसरमा कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले औद्योगिक प्रतिष्ठान र शैक्षिक प्रतिष्ठानको अर्थपूर्ण सहकार्यका माध्यमबाट दुवै संस्थाको बौद्धिक क्षमताको प्रभावकारी उपयोगलाई सहयोग पुग्ने धारणा व्यक्त गरे । एड्भान्स्ड कलेज तथा इआरएमसीका निर्देशक इन्जिनियर उद्धव चौलागाईँले शैक्षिक प्रतिष्ठानले औद्योगिक प्रतिष्ठानसँग सहकार्य गर्नुपर्ने बताए ।















प्रतिक्रिया