बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

मानव अधिकार उल्लङ्घनका घटनामा ५ हजार भन्दा बढी पीडित

दैनिक नेपाल २०७७ फागुन ७ गते २१:०६

 काठमाडौं, ७ फागुन । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार भन्दा बढी पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बताएको छ ।

आज शुक्रबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ सार्वजनिक गर्दै इन्सेकले उक्त तथ्यांक पनि सार्वजनिक गरेको हो । ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०२० का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार ५४३ जना पीडित भएको इन्सेकको भनाइ छ ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ मा सो तथ्याङ्क समेटिएको हो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को विमोचन नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका हुन् ।

इन्सेकले संकलन गरेको अभिलेख अनुसार सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५४३ जना पीडित भए । सन् २०१९ मा यस्ता घटनामा ६ हजार ७४२ जना पीडित भएको तथ्यांक छ ।

सन् २०२० मा मानव अधिकार उल्लङ्घनका घटनामा ५८ जना महिला र ६१७ जना पुरुष गरी जम्मा ६७५ जना तथा ज्यादतीका घटनामा एक जना तेस्रो लिङ्गी, ४ हजार २७१ जना महिला, ५९५ जना पुरुष र १ जना नखुलेकोसमेत गरी ४ हजार ८६८ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिए ।

यस वर्ष राज्य पक्षबाट ७ जना पुरुष तथा अन्य पक्षबाट १ जना तेस्रो लिङ्गी, १५८ जना महिला र १८४ जना पुरुष गरी ३४३ जनाको हत्या भएको इन्सेकले जनाएको छ ।

यो वर्ष यातनाका घटनाका घटनामा ९ जना, गिरफ्तारीका घटनामा ३७० जना, जातीय विभेदका घटनामा ४८ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, अभिव्यक्ति भेला तथा सङ्गठित हुने अधिकारमा ९४ जना र धम्कीका घटनामा २५ जना र कुटपिटका घटनामा ३२० जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ ।

‘सन् २०२० मा महिलामाथि हुने हिंसाका घटनामा २ हजार ६०६ जना र बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४६१ जना बालबालिका पीडित भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित