बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, जनादेशमार्फत बलियो पार्छ : प्रधानमन्त्री

दैनिक नेपाल २०७७ फागुन ७ गते ११:५५

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको बाटो बिराउने काम वर्तमान सरकारले नगर्ने स्पष्ट पारेका छन् ।

लोकतन्त्रलाई थप बलियो बनाउनकै लागि ताजा जनादेशका लागि निर्वाचनको मिति घोणा गरेको बताउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीँ कतैबाट हुन नहुनेमा जोड दिएका छन् ।

७१औं प्रजातन्त्र दिवसको अवसरमा आज शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘ताजा जनादेशमार्फत लोकतन्त्र बलियो बनाउनुपर्ने दायित्व हामीमा आएको छ, अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन ।’

जनताको अभिमतभन्दा विपरीत सरकार नजाने भन्दै ओलीले वर्तमान सरकारले भ्रष्टाचारको अन्त्य गर्ने दाबी समेत गरेका छन् । ‘सरकार भ्रष्टाचार गर्दैन र गर्न दिँदैन’, ओलीले भने, ‘यसै सरकारले सुशासन कायम गरेर छोड्छ, अपराधहरुलाई नियन्त्रण गर्छ ।’

उनले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न पक्षलाई संवादको माध्यमबाट आउन आह्वान पनि गरेका छन् । सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढ्न सबैमा अपिल समेत गरेका छन् ।

जनक्रान्तिका माध्यमबाट १०४ वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित