
काठमाडौं, ६ फागुन । विवेकशील साझा पार्टी हिजो फागुन ५ गतेका लागि तोकिएको बाग्मती प्रदेशसभा बैठक अकस्मात स्थगित हुनु अस्वाभाविक र हठात् निर्णय भएको बताएको छ ।
हिजो दिउँसो २ बजे बस्ने गरी तोकिएको प्रदेशसभाको बैठक अनायास ढङ्गले सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको घटनाप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आज बिहीबार एक विज्ञप्ति जारी गरी असन्तुष्टि व्यक्त गरेको छ ।
‘विगतमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसी उक्त समितिको सल्लाहको आधारमा सभा सञ्चालन गर्ने र कार्यसूची तय गर्नेसम्बन्धी आवश्यक निर्णयहरू हुँदै आएकोमा हाल आएर सभामुखको हठात् निर्णयद्वारा एकाबिहानै गरिएको यो स्थगन अस्वाभाविक छ’, विज्ञिप्तिमा लेखिएको छ ।
गत पुस १० गते प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र २०७७ माघ ९ गते प्रदेशसभामा प्रस्ताव टेबुल समेत भइसकेको सन्दर्भमा विनाकुनै विलम्ब यो विषयमाथि छलफल गरी निष्कर्षमा पुर्याउनुपर्ने सो पार्टीको धारणा छ । सभामुखमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोजेको आरोप समेत विवेकशीलले लगाएको छ ।
सो दलले प्रदेश सरकारको यो प्रवृत्तिको विरोध गर्दै लेखेको छ, ‘लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न जोडदार माग गर्दछौँ ।’
गत माघ ७ गते बाग्मती प्रदेशसभाको सातौँ अधिवेशन शुरु भएको थियो । तर, यो अवधिमा जम्मा २ वटा मात्र प्रदेशसभा बैठक बसेको छ ।
माघ ७ गतेको पहिलो बैठक औपचारिक शुभकामना आदानप्रदानमा सीमित रहेको थियो भने माघ ९ गते सत्ताधारी दल, नेकपाकै ४५ जना सदस्यहरूद्वारा मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो । त्यसयता सभाका बैठकहरू सञ्चालन हुन सकेका छैनन् ।
















प्रतिक्रिया