शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

याङ्गुनमा गाडी तेर्साएर सडक अवरुद्ध, सेनालाई तनाब

दैनिक नेपाल २०७७ फागुन ६ गते ९:०८

लण्डन, ६ फागुन । फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरूले म्यान्मारका विभिन्न सहरहरूमा प्रदर्शन गरिरहेका छन् ।

याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ ।

म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाएका छन् जसमा कम्तीमा एक जना घाइते भएको बताइएको छ ।

प्रदर्शनकारीहरूले नेत्री आङ सान सू ची सहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन् । सू ची माथि मङ्गलवार नयाँ आपराधिक अभियोग लगाइएको थियो ।

सेनाले त्यहाँ फेरि निर्वाचन गराउने वाचा दोहोर्‍याएको छ तर कैयौँ प्रदर्शनकारीहरूले भने संशय व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको म्यान्मारका लागि विशेष प्रतिवेदकले त्यहाँ सेना हिंसामा उत्रन सक्ने जनाएसँगै पछिल्ला घटनाक्रमहरू अघि आएका छन् ।

बुधवार म्यान्मारमा ठूला अप्रिय घटना नघटेको विवरण प्राप्त भए पनि सामाजिक सञ्जालमा देखा परेको एउटा भिडिओमा सुरक्षाकर्मीहरूले म्यान्डले रेलवे स्टेसनमा कैयौँ राउन्ड गोली चलाएको देखिएको छ ।

प्राप्त विवरण अनुसार प्रदर्शनकारीहरूले सेनाको सामान बोकेको रेललाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए । रेलवेका कर्मचारीहरूले भने आफूहरूलाई बन्दुक ताकेर अघि बढ्न बाध्य पारिएको बताएका छन् ।

म्यान्मारका अन्य सहरहरूमा पनि प्रदर्शनहरू भएका छन् । राजधानी नेपिद्‌अमा इन्जिनियर, चिकित्सक तथा शिक्षकहरू सेना विरुद्ध आफ्नो ऐक्यवद्धता देखाउन आयोजना गरिएका कार्यक्रममा सहभागी भएका थिए ।

बुधवार आयोजना गरिएका प्रदर्शनले याङ्गुनको ट्राफिक व्यवस्थालाई लगभग निष्क्रिय पारिदिएको थियो । सामाजिक सञ्जालमा जानाजान सडक अवरुद्ध पार्न गरिएको आह्वानले बुधवार बिहानैबाट बल पाउन थालेको थियो ।

सरकारी कर्मचारीलाई कार्यालय जान अनि सुरक्षा निकायहरूको हिँडडुल प्रभावित पार्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

ूरोड ब्लकिङ् डेू भनिएको विरोध कार्यक्रमका क्रममा सवारी साधनका बोनट खोलिएको र ठाउँ ठाउँमा गाडी तेर्साएको देख्न सकिन्छ । बीबीसी

प्रतिक्रिया
सम्बन्धित