
काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमविरुद्ध संयुक्त संघर्षको चर्चा चलिरहेको बेलामा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले भने संघर्षरत दलहरुसमक्ष गम्भीर शर्त अगाडि सारेका छन् ।
उनले वर्तमान सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न सकिने धारणा व्यक्त गर्दै खासगरी प्रचण्ड–माधव समूहका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई लक्षित गरी देशको विद्यमान व्यवस्थामाथि नै प्रश्न उठ्नेगरी गम्भीर शर्त राखेका हुन् । उनको यो शर्तका आधारमा मुलुकमा भइरहेको शासन व्यवस्थामाथि नै खतरा उत्पन्न हुने वा गराउने सम्भावना बढिरहेको अनुमान समेत गर्न सकिन्छ ।
राजधानीमा आज मंगलबार भएको एक साक्षातकार कार्यक्रममा नेता गजुरेलले हाल संघर्षरत दलहरुले अहिलेको व्यवस्था नै गलत हो भनेर भन्न सक्ने भए संयुक्त आन्दोलन गर्न सकिने बताएका छन् । ‘ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव गर्नुभयो र लगत्तै राष्ट्रपतिले स्विकार गर्नुभयो । यो कदमलाई हामीले प्रतिगमनकारी भनेका छौं’, नेता गजुरेलले भने, ‘संविधानअनुसार यो अधिकार प्रधानमन्त्रीलाई छैन् ।’
प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरे पनि चुनाव हुँदै नहुने जिकिर उनले गरेका छन् । प्रधानमन्त्रीको उद्देश्य निर्वाचन गर्ने भन्दा पनि वर्तमान सरकारलाई जसरी पनि लम्ब्याउने रणनीति भएको उनको धारणा छ ।
सोही अवसरमा उनले अहिले राष्ट्रपति शासन र संकटकाल लागू गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको टिप्पणी पनि गरेका छन् । नेकपाले जनतामाथि कुठराघात गरेको बताउँदै उनले सत्ताधारीभित्रको किचलो, कलह, सत्ता नै भएकाले प्रतिनिधिसभा विघटन हुन पुगेको पनि उनले बताए ।















प्रतिक्रिया