बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ओलीका तीन वर्षमा कामभन्दा कागजी प्रगति

दैनिक नेपाल २०७७ फागुन ४ गते ७:४३

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा भंग गरी कार्यकाल सकिनु दुई वर्षअघि नै चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दैनन्दिन जिम्मेवारीलाई समेत समेटेर आफ्नो तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् ।

सरकार गठन भएको तीन वर्ष पुगेका अवसरमा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्निर्मित भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली । भवनको तीन वटा मोहडाको प्रबलीकरण पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साताभित्र सर्ने तयारी छ । भुइँ, सिलिङ र भित्तामा काठ प्रयोग गरिएको भवनमा ६८ डिग्री सेल्सियस तापक्रम पुग्दा पाइपबाट आफैं पानी निस्कने ‘स्प्रिङ्कल’ प्रविधि जडान गरिएको छ । आगलागी भए मान्छेले पानी हाल्नुपर्दैन । भित्र धूवाँ भए वा कसैले धूमपान गरे साइरन बज्नेलगायत प्रविधि यसमा छन् ।

सरकार गठन भएको तीन वर्ष पुगेको अवसर पारेर सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्निर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारका नियमित जिम्मेवारीलाई पनि उपलब्धिका रूपमा व्याख्या गरेका हुन् ।

२३ पृष्ठ लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले यसअघिकै सरकारका पालामा हुँदै आएका कामलाई पनि आफ्नो सरकारले पूरा गरेको जिम्मेवारी भनी जस लिएका छन् । आफ्नो सवा दुई घण्टा लामो मन्तव्यका क्रममा सरकार गठन भएपछि आर्थिक उपलब्धि सुनाउँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीपछि आर्थिक गतिविधि चलायमान हुने भन्दै १० प्रतिशत आर्थिक वृद्धि हासिल हुने सम्भावना रहेको दाबी गरे ।

प्रधानमन्त्रीको यो दाबीलाई सरासर गलत भएको पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता रामशरण महतको टिप्पणी छ । ‘कोभिड–१९ का कारण अर्थतन्त्र ठप्प थियो । अहिले अर्थतन्त्र चलायमान भएकाले सामान्य अवस्थाभन्दा बढी आर्थिक वृद्धिदर देखिन सक्छ,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीले १० प्रतिशत आर्थिक वृद्धि हुन्छ भन्नु सही होइन ।’ प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको ६ महिनामा शोधनान्तर बचत १ सय २४ अर्ब रुपैयाँ पुगेको विषयलाई आफ्नो उपलब्धिमा उल्लेख गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर बचत २६ अर्ब रुपैयाँ मात्र थियो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११ प्रतिशत बढेको र कुल विनिमय सञ्चिति १२ अर्ब ७८ करोड पुगेको भन्दै प्रधानमन्त्री ओलीले बताए ।

कोभिड–१९ का कारण अर्थतन्त्र शिथिल भएको र आयात घटेको सन्दर्भमा यो तथ्यांक सरकारको उपलब्धि नभई सामान्य घटना भएको पूर्वअर्थमन्त्री महतको भनाइ छ । ‘आयात घटेको छ र भारतमा मात्रै निर्यात केही बढेको छ,’ उनले भने, ‘उनले भने, ‘यस्तो अवस्थामा शोधनान्तर बचत र विदेशी विनिमय सिञ्चिति बढ्नु सामान्य हो ।’ सामान्य कामलाई पनि बढाइचढाइ गर्नु प्रधानमन्त्री ओलीको स्वभाव भएको उनको टिप्पणी छ ।

समग्र अर्थतन्त्रतर्फको उपलब्धि सुनाउँदै प्रधानमन्त्री ओलीले सार्वजनिक खर्चको आकार २९ प्रतिशतले वृद्धि भएको बताएका छन् । अमेरिकी डलरमा प्रतिव्यक्ति आय ८ सय ८७ बाट बढेर १ हजार ९७ पुगेको ओलीले उल्लेख गरेका छन् । ‘९ लाखभन्दा बढी जनसंख्यालाई निरपेक्ष गरिबीको रखोबाट माथि उकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ को महामारी हुँदैनथ्यो भने यो संख्या १५ लाखभन्दा माथि हुने थियो ।’

पूर्वअर्थमन्त्री महत भने भूकम्पपछि सरकारको गर्ने खर्च र वैदेशिक सहायता बढेकाले आर्थिक गतिविधि बढेपछि यस्तो अवस्था स्वाभाविक भएको टिप्पणी गर्छन् । प्रधानमन्त्री ओलीले संघीय सरकारले स्थानीय सरकारलाई दिएको अनुदानलाई समेत सरकारको उपलब्धिका रूपमा चित्रण गरेका छन्, जब कि यो स्थानीय सरकारको संविधानप्रदत्त कर्तव्य हो । तीन वर्षको अवधिमा प्रदेश र स्थानीय विकासका लागि १ हजार ४५ अर्ब रुपैयाँ अनुदान हस्तान्तरण गरिएको ओलीको दाबी छ ।

स्थानीय तह र प्रदेशले पाउने अनुदान संविधानप्रदत्त भएकाले सरकारले आफ्नो उपलब्धिका रूपमा चित्रित गर्नु गलत भएको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए । ‘स्थानीय सरकारले गरेको कामसमेत संघीय सरकारले आफ्नो उपलब्धिका रुपमा चित्रित गर्न पाउन्न,’ उनले भने, ‘देश संघीयतामा गएकाले जुन सरकारले काम गर्‍यो, उसैले गरेको ठहर्छ ।’ देश संघीयतामा गए पनि प्रधानमन्त्री ओलीलाई एकात्मक सत्ताको आभास भएको पाण्डेले टिप्पणी गरे ।

‘ओलीजीलाई देश संघीयतामा गएको आभास भएको छैन,’ उनले भने, ‘पहिलेको एकात्मक सत्तामा राजाले जस्तो सबै मैले गरेको हुँ भन्ने भाव ओलीजीमा देखियो ।’ चुनावअघि वाम गठबन्धनले घोषणापत्रमा उल्लेख गरेको लक्ष्य हेर्दा सरकारले कुनै काम गर्न नसकेको पाण्डेको विचार छ ।

प्रधानमन्त्री ओलीले सरकारको तीनवर्षे उपलब्धीका रूपमा सार्वजनिक गरेका कतिपय कुरा जनताले नपत्याउने खालको भएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ बताए । ‘कतिपय कामका लागि अरू व्यक्तिले महत्त्वपूर्ण योगदान गरेको भए पनि उनीहरूलाई जस नदिँदा प्रधानमन्त्रीलाई जनताले पत्याउनेछैनन्,’ उनले भने, ‘सरकार विकास निर्माण, समृद्धि र जनजीविकाको सवालमा सफल छैन ।’ विजय तिमल्सिना र विमल खतिवडाले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित