१० कार्तिक २०८३, मंगलबार

मुस्लिमको मदरसा बनाउन हिन्दु समाजसेवीले दिए जग्गादान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

झापा, ३ फागुन । झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् ।

मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरू जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्‍याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताए ।

हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए ।

सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवारकव बसोबास छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए ।

समाजसेवी प्रसाईं हिन्दू हुन्। उनको जग्गादानले नेपाली समाजमा परापूर्वकालदेखि कायम रहँदै आएको हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उजागर गरेको स्थानीय पत्रकार विजय बरालले बताए ।

जग्गादाता प्रसाईलाई आइतबार एक समारोहबीच मदरसाले सम्मान गरेको छ। मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको उनले बताए ।