
काठमाडौं, ३० माघ । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले हिंसात्मक ‘युद्ध’ शुरु गरेको भोलि २६ वर्ष पुग्दैछ ।
सोही अवसरमा भोलि जनयुद्ध दिवस मनाइँदै छ । तर, जनयुद्धको नेतृत्व गरेको दल समेत सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको फुटसँगै कुन दलले कसरी भोलि जनयुद्ध दिवस मनाउँदै छन् भन्ने कौतुहलता उब्जिएको छ ।
‘भोलि अधिकांश कम्युनिस्ट घटकहरुले यो दिवस मनाउने तयारी गरेका छन् । प्रचण्ड–माधव समूहको नेपाल कम्युनिस्ट पार्टीदेखि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसम्मले यो दिवस मनाउने तयारी गरेका छन् ।
प्रचण्ड–माधव समूहले त यो दिवस मनाउन सर्कुलर नै जारी गरिसकेको छ । शहीद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले सर्कुलर नै जारी गरेका हुन् ।
तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले भने जनयुद्ध दिवस नमनाउने भएको छ । ओली जनयुद्धलाई हिंसात्मक गतिविधिका रुपमा लिँदै आएका छन् ।
यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि ‘जनयुद्ध दिवस’ मनाउन देशव्यापी तयारी गरिसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका हालका अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालीन माओवादीले १० वर्ष लामो जनयुद्ध गरेको थियो । जनयुद्धमा झण्डै १८ हजारको ज्यान गएको थियो ।
तत्कालिन माओवादीका नेताहरु अहिले विभिन्न राजनीतिक दलमा सक्रिय छन् । प्रचण्ड नेकपाका अध्यक्ष छन् । विप्लवले सरकारले प्रतिबन्ध गरेको नेकपाको नेतृत्व लिएका छन् । मोहन वैद्य किरणको अलग्गै पार्टी छ । बादल ओली समूहमा गएका छन् ।















प्रतिक्रिया